युवा लक्षित ‘लायन्स बिजनेस मिट’ बुटवलमा सम्पन्न

  • बुटवल ,१४ भदौ । युवालाई व्यवसाय, उद्यमशीलता तथा नेतृत्व विकासतर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको ‘युवा लक्षित लायन्स बिजनेस मिट’ बुटवलमा सम्पन्न भएको छ।
    लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत एरिया नं। ३ अन्र्तगतका लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल एलिट को आयोजनामा शनिबार महाराजा रिसोर्ट, कालिकानगर, बुटवलमा कार्यक्रम भएको छ।
    कार्यक्रममा युवा तथा व्यवसाय क्षेत्रमा सक्रिय सहभागीहरूलाई लक्षित गर्दै व्यवसाय सञ्चालन, उद्यमशीलता, नेतृत्व विकास, वित्तीय व्यवस्थापन तथा व्यावसायिक सफलताका विषयमा अनुभव र ज्ञान आदान–प्रदान गरिएको थियो।
    कार्यक्रमका विशेष वक्ताका रूपमा ड्याडीज ग्रुपका संस्थापक कमलजंग कुँवरले आफ्नो अनुभव सुनाउदै युवाले अवसर पहिचान गर्दै नवीन सोच, सीप, अनुशासन र योजनाका साथ व्यवसायिक क्षेत्रमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए। नयाँ उद्यमी बन्न चाहने युवाका लागि आवश्यक तालिम तथा मार्गदर्शनको अभाव रहेको उल्लेख गर्दै उनले व्यावहारिक र प्रभावकारी तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए । व्यवसाय गरिरहेका युवालाई समेत प्रोत्साहन र संरक्षण गर्नुपर्ने भन्दै उनले उद्यम गरिरहेका युवा पलायन हुन नदिन राज्यले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । टेन ग्रुपका अध्यक्ष धिरजकुमार अग्रवालले युवालाई रोजगारी, उद्यमशीलता र सीप विकाससँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न सरकारलाई दबाब दिनुपर्ने उनीहरूको भनाइ थियो । नेपाल राष्ट्र बैंकका सहायक निर्देशक मनिष श्रीवास्तवले युवालाई लक्षित गरेर सरकारले ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी बारेमा जानकारी दिनुर्भको थियो ।
    युवालाई व्यवसायिक क्षेत्रमा आकर्षित गर्दै ‘नेटवर्किङ, सिकाइ र विकास’को वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रमले युवा उद्यमी तथा व्यवसायीबीच सम्बन्ध विस्तार र अनुभव आदान–प्रदानमा समेत सहयोग पुर्‍याएको स्टार्सका सचिव ई छविन्द्र भट्राईले जानकारी दिए ।
    कार्यक्रममा लायन्स बुटवल स्टार्सका अध्यक्ष डिएस भट्राईले लायन्सको सामाजिक सेवासँगै व्यवसायिक नेटवर्किङ र युवा उद्यमशीलताको विकासलाई प्राथमिकता दिने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो।लायन्स क्लब अफ बुटवल इलिटका अध्यक्ष सुवास अर्यालले युवाहरूलाई नयाँ सोच, सीप र सम्भावनालाई व्यवसायमा रूपान्तरण गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो।
    कार्यक्रमा बोल्दै प्रमुख आतिथ्यती डिष्ट्रिक्ट गभर्नर सन्दिप कसौधनले युवाहरूलाई रोजगारी खोज्ने मात्र नभई उद्यम तथा व्यवसाय सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए। व्यवसाय सञ्चालनका क्रममा आउने चुनौती, अवसरको पहिचान, नेतृत्व क्षमता विकास तथा सामाजिक उत्तरदायित्वका बारेमा जानकारी दिनुभएको थियो। गभर्नर कसौधनले कार्यक्रमले युवाबीच अनुभव आदान–प्रदान, व्यवसायिक सम्बन्ध विस्तार तथा नयाँ उद्यमका लागि सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। कार्यक्रममा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर मीना पन्थी, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर अर्चित श्रेष्ठ,पीडीजी महेन्द्र नारायण श्रेष्ठ,डिस्ट्रिक्ट सचिव आशिष कृष्ण श्रेष्ठ,डिस्ट्रिक्ट कोषध्यक्ष सुरेन्द्र घिमिरे, कार्यक्रम सम्योजक बिष्णु ज्ञवाली लगाएका डिष्ट्रिक्टका पदाधिकारीहरुको सहभागीत रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation