रामपुर नगरपालिकाबाटै व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर(पान)दर्ता सेवा सुरु

  • पाल्पा,२७ असोज । रामपुर नगरपालिकामा पान दर्ता सेवा सुरु भएको छ । नगरपालिकाले सेवाग्राहीको सहजताका लागि व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर(पान)दर्ता सेवा सुरु गरेको हो । मंगलवार सेवाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका भित्रका व्यवसायीहरुको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाको कार्यालयबाटै पान दर्ता सेवा शुरु गरेको बताउनुभयो । व्यवसाय तथा व्यक्तिगत पान लिनकै लागि जिल्ला सदरमुकाम जानु पर्ने बाध्यतालाई मध्यनजर गरेर पान दर्ता सेवा नगरपालिकाको कार्यालयबाटै सेवा दिन थालेको नगर प्रमुख थापाले बताउनुभयो ।उहाँले जनतालाई नजिकबाट सेवा दिने उद्देश्यले आन्तरिक राजश्व कार्यालय बुटवल रुपन्देहीसंगको समन्वय तथा सहकार्यमा सेवा सुरु गरेको बताउनु भएको छ । स्थानीय तहबाट प्रवाह हुने करदाता सँग सम्बन्धित कर सेवा शुभारम्भ तथा कर शिक्षा कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले संघीयताको मर्म अनुसार जनतालाई नजिकबाट सेवा प्रदान गर्नका लागि पान दर्ता शुरुवात गरेको बताउनुभयो । रामपुर नगरपालिकाको कार्यालयका कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी पान दर्ता सेवा सुरु गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवल रुपन्देहीका कर अधिकृत चिरिञ्जिवि बस्यालले संघीयताको अभ्यास संगै जनतालाई प्रशासनिक सेवा दिने उद्देश्यले सेवा प्रदान गरेको उल्लेख गर्नुभयो ।यस्तै कर अधिकृत फरशुराम पोखरेलले कर शिक्षा सम्बन्धी अभिमुखिकरण प्रदान गर्नु भएको थियो । उहाँले करदाता दर्ता र आय विवरण, पान दर्ताका प्रकार, अनलाईन दर्ता प्रक्रिया, मूल्य अभिवृद्धि कर र अन्तशुल्क लगएतका विषयमा सहजिकरण गर्नु भएको थियो । नगरपालिकाको कार्यालयबाटै पान दर्ता सेवा पाउनु सुखद पक्ष रहेको भन्दै यसले व्यवसायीलाई सहज हुने रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाका निवर्तमान अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।सेवा शुभारम्भका अवसरमा रामपुर नगरपालिका वडा नं. ८ मा रहेको हाम्रो सेखामे फेन्सी पसलका सञ्चालक लिला कुमारी मानन्धरलाई पान दर्ता प्रमाण पत्र प्रदान गरेको छ ।आफुले विगत केही महिना देखि पान दर्ता लिन चाहेको र अहिले सेवा शुभारम्भका दिन पहिलो सेवाग्राहीको रुपमा सेवा लिन पाउँदा खुशी लागेको हाम्रो सेखामे फेन्सी पसलका सञ्चालक लिला कुमारी मानन्धरले बताउनुभयो । सेवा सुरु भएसँगै रामपुर नगरपालिकाको कार्यालयले व्यक्तिगत तथा व्यवसयिक स्थायी लेखा नम्बर (पान)जारी गर्ने , व्यक्तिगत पानलाई व्यवसायीक पानमा रुपन्तरण गर्ने ,व्यवसायीक पानलाई व्यक्तिगत पानमा रुपान्तरण गर्ने , पान दर्तासँग सम्बन्धित विवरण संशोधन गर्ने , दर्ता भएको करदाताको अभिलेख राख्ने , अन्त शुल्क र भ्याट सम्बन्धि सेवामा सहजिकरण गर्ने सेवा प्रदान गर्ने भएको छ ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको स्थानीय तहबाट प्रवाह हुने करदाता सँग सम्बन्धित कर सेवा शुभारम्भ तथा कर शिक्षा कार्यक्रम उपप्रमुख बाल कुमारी थापाको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, उद्योगी व्यवसायी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation