सिल्भर ट्रायङ्गल पर्यटन प्रवर्द्धन सम्झौताको दोस्रो बैठक सम्पन्न

  • लुम्बिनी ,२८ असोज ।भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भएको सिल्भर ट्रायङ्गल पर्यटन प्रवर्द्धन सम्झौता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले भरतपुर महानगर पालिकाको आयोजनामा सम्पन्न दोस्रो बैठक तथा अन्तरक्रिया कार्यक्रम यही मिती:२०८३ अशोज २६ र २७ गते महत्त्वपूर्ण छलफल र आगामी प्रतिबद्धतासहित सम्पन्न भएको छ।

    कार्यक्रममा तीनवटै स्थानीय तहका प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ, उद्योग वाणिज्य संघ, होटल संघ, पर्यटन व्यवसायी, पत्रकार तथा सरोकारवालाहरूको सहभागितामा पर्यटन प्रवर्द्धनका सम्भावना, चुनौती र आगामी कार्यदिशाबारे छलफल गरियो।

    बैठकमा सरकार र निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने, डिजिटल मार्केटिङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रचारप्रसार गर्ने, विदेशस्थित नेपाली दूतावासहरूमा पर्यटन डेस्क स्थापनाका लागि पहल गर्ने तथा पर्यटकको बसाइ अवधि र भ्रमण गन्तव्य विस्तार गर्ने विषयमा जोड दिइयो। साथै, तीनवटै गन्तव्यलाई एकीकृत पर्यटन सञ्जालमा आबद्ध गरी संयुक्त पर्यटन प्याकेज, संस्थागत समन्वय र प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरियो।

    लुम्बिनीको धार्मिक तथा सांस्कृतिक सम्पदा, पोखराको प्राकृतिक सौन्दर्य र भरतपुरको वन्यजन्तु तथा प्रकृति पर्यटनलाई एउटै अभियानमा जोड्दै नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने साझा लक्ष्यका साथ आगामी दिनमा नीति, कार्यक्रम, बजेट र कार्ययोजनामार्फत सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
    साथै, सिल्भर ट्रायङ्गल पर्यटन प्रवर्द्धन सम्झौताको आगामी तेस्रो बैठक लुम्बिनी साँस्कृतिक नगरपालिका आयोजना गर्ने निर्णय भएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation