प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्छ, माफी माग्नुपर्छ : नारायणकाजी श्रेष्ठ

  • काठमाडौँ,१७ जेठ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा नेपाल–भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
    आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै श्रेष्ठले प्रधानमन्त्रीको भनाइलाई “शतप्रतिशत गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक” भएको बताए । उनको उक्त अभिव्यक्तिबारे चर्को आलोचना सुरु भएको छ ।
    यसैबीच नेता श्रेष्ठले प्रधानमन्त्रीले दिएको यस्तो अभिव्यक्तिले नेपाली जनतालाई लज्जित एवं आक्रोशित बनाएको टिप्पणी गरेका हुन् ।‘प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति शतप्रतिशत गलत, राष्ट्रघाती, गैरजिम्मेवार र घातक छ,’ उनले भनेका छन्, ‘आफ्नै देशको प्रधानमन्त्रीले दिएको यसप्रकारको अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता ,भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएका देशभक्त नेपाली जनतालाई लज्जित एवं आक्रोशित बनाएको छ ।’
    यस्तो अभिव्यक्तिले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा–लिपुलेक–कालापानी र सुस्ता क्षेत्रको नेपाली भूमि व्यावहारिक रुपमा नै नेपालको सार्वभौमिकता अन्तर्गत ल्याउने नेपालको निरन्तरको अभियानमाथी आँच पुर्‍याएको उनको भनाइ छ ।
    साथै, उनले प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने पनि बताएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation