रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा श्री सर्वोदय जनक माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला, विद्यालय झोला तथा विद्यालय पोशाक हस्तान्तरण

  • बागलुङ, १६ जेठ २०८३ – रोटरीको आदर्श वाक्य “Service Above Self (आफ्नो स्वार्थभन्दा माथि सेवा)” लाई आत्मसात गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले जैमिनी नगरपालिका–५, बागलुङस्थित श्री सर्वोदय जनक माध्यमिक विद्यालय मा १० वटा कम्प्युटर , २०० थान विद्यालय झोला तथा ५ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ।
    क्लबका सचिव रोटेरियन बसु बडालद्वारा सञ्चालन गरिएको कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रोटेरियन विष्णु शर्माको अध्यक्षता रहेको थियो।
    कार्यक्रमका प्रमुख अतिथि जैमिनी नगरपालिकाका उपप्रमुख श्री हरिहर शर्मा रहनुभएको थियो। विशेष अतिथिहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री तेजेन्द्र के.सी., शिक्षक अभिभावक संघका अध्यक्ष श्री रवि प्रसाद शर्मा, विद्यालयका प्रधानाध्यापक श्री भवानी आचार्य, विद्यालय बाल क्लबका अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का ICM Chair रोटेरियन कृष्ण पाण्डे रहनुभएको थियो।
    त्यसैगरी कार्यक्रममा पूर्व अध्यक्ष रोटेरियन हिरा बहादुर शाह, रोटेरियन बिक्रम मल्ल, गोपाल शर्मा, शान्ति शर्मा आचार्य, राजेश अग्रहरी तथा उपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो। साथै रोटेरियन स्पाउसहरू अर्चना मल्ल, श्वेता बडाल तथा सुनिता लम्सालको समेत सहभागिता रहेको थियो।
    कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख हरिहर शर्माले कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्दै विद्यालयमा स्थापना गरिएको कम्प्युटर प्रयोगशालाले विद्यार्थीहरूलाई डिजिटल तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
    सो अवसरमा विद्यालयका विद्यार्थीहरूलाई २०० थान विद्यालय झोला वितरण गर्नुका साथै आर्थिक रूपमा विपन्न ५ जना विद्यार्थीहरूलाई विद्यालय पोशाक समेत हस्तान्तरण गरिएको थियो। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यालय परिवारले रोटरी क्लबप्रति हार्दिक आभार व्यक्त गरेका थिए।
    विद्यालयका प्रधानाध्यापक श्री भवानी आचार्यले विद्यालयको शैक्षिक तथा प्राविधिक विकासमा यस सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कम्प्युटर प्रयोगशालाको संरक्षण र प्रभावकारी उपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष रोटेरियन विष्णु शर्माले रोटरीको मूल मन्त्र “Service Above Self” अनुरूप शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि क्लब निरन्तर क्रियाशील रहने बताउनुभयो। उहाँले सामुदायिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने रोटरीको अभियानलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
    कार्यक्रम धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation