बुटवल,१४ भदौ । नेपाल जुत्ता–चप्पल उत्पादक संघ लुम्बिनी प्रदेश शाखाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग गर्ने भएको छ ।
संघको आइतबार बसेको बैठकले भोटेकोशी बाढीमा परेका परिवारका लागि सहयोगस्वरूप जुत्ता–चप्पल उपलब्ध गराउने निर्णय गरेको हो ।
संघका अध्यक्ष यज्ञप्रसाद भुर्तेलका अनुसार विभिन्न जुत्ता–चप्पल उद्योगको सहयोगमा १५ हजार जोर जुत्ता तथा चप्पल उपलब्ध गराइनेछ ।
जसअनुसार एभरेस्ट फुटवेयर प्रालि बुटवलले ४ हजार जोर,आस्था फुटवेयरले २ हजार १ सय जोर, ग्यालेक्सी नेपाल फुटवेयर कपिलवस्तुले २ हजार जोर, ग्लोबल फुटवेयर इन्डस्ट्रिज चन्द्रौटाले १ हजार ५ सय जोर, फस्ट स्टेप इन्डस्ट्रिजले १ हजार ५ सय जोर, , युनिभर्सल सुज इन्डस्ट्रिजले १ हजार १ सय जोर , सिटी वाक फुटवेयरले १ हजार १ सय जोर जुत्ता–चप्पल यस्तै मुन स्टार फुटवेयर प्रालि इमिलियाले १ हजार जोर चप्पल दिने भएका छन् ।
र शिव प्लाष्टिकले ५०० जोर जुत्ता चप्पल उपलब्ध गराउने अध्यक्ष भुर्तेलले जानकारी दिए ।
भोटेकोशी बाढीका कारण प्रभावित बनेका परिवारलाई विपद्को समयमा सहयोग पुर्याउने उद्देश्यले सामग्री उपलब्ध गराउन लागिएको अध्यक्ष भुर्तेलले बताए ।












