स्याङ्जा गनपा–रुपन्देही सम्पर्क समाजद्वारा विपद् राहत कोषमा ५१ हजार १ सय सहयोग

  • रुपन्देही । स्याङ्जा गल्याङ नगरपालिका रुपन्देही सम्पर्क समाजले आयोजना गर्न लागेको तीज मिलन कार्यक्रम स्थगित गर्दै देशमा परेको प्राकृतिक विपद्का पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट रु. ५१ हजार १ सय सहयोग गरिएकाे सचिव पिताम्बर अर्यालले जानकारी दिनुभयो ।
    समाजको हालै बसेको बैठकले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण नागरिकहरू प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै तीज मिलनजस्तो सांस्कृतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। बैठकले कार्यक्रमका लागि खर्च हुने रकमलाई विपद्मा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने गरी कोषमा जम्मा गर्ने निर्णय गरेको जनाइएको छ।
    बैठकमा संस्थाका अध्यक्ष जनक कुमार श्रेष्ठ, सचीव पिताम्बर अर्याल  लगायतका  पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। बैठकले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडित परिवारलाई सहयोग गर्नु नै अहिलेको प्रमुख आवश्यकता रहेको निष्कर्ष निकालेको छ।
    समाजले तीज मिलन कार्यक्रम स्थगित गरी राहत कोषमा सहयोग गर्ने निर्णयमार्फत मानवीय सेवा, सामाजिक एकता र विपद्का बेला पीडितको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सक्दो सहयोग गर्न समाजले आग्रह गरेको छ।
    बैठकका निर्णयहरूमा तीज मिलन कार्यक्रम स्थगित गर्ने, संस्थाको तर्फबाट रु. ५१,१०० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने तथा आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका कार्यमा आवश्यक सहयोग र सहकार्य गर्ने उल्लेख गरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation