अर्घाखाँची,१७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले रास्वपाका सबै तहका समिति पार्टीका मुद्दा र एजेन्डा मात्र बोकेर नहिँड्ने, आम नागरिकका समस्या पहिचान गरी समाधानका लागि जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन्।
भूमिकास्थान नगरपालिका–१ र २ को संयुक्त वडा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सांसद भुसालले रास्वपाले पुराना दलहरूले जस्तै एकअर्कामाथि आरोप–प्रत्यारोप र हिलो छ्याप्ने राजनीति नगर्ने स्पष्ट पारे। उनले आफ्ना कार्यकर्तामा मात्र सीमित नभई सबै नागरिकको साझा पार्टीका रूपमा स्थापित हुने लक्ष्य रहेको उल्लेख गर्दै जनताले व्यवहारमै फरकपन महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।
रास्वपा अर्घाखाँची जिल्ला सभापति सीता पराजुलीले पार्टीले जनविश्वासलाई अझ मजबुत बनाउँदै सुशासन, पारदर्शिता र जनमुखी राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन्। उनले वडा तहदेखि नै संगठनलाई जनतासँग प्रत्यक्ष जोड्दै नागरिकका समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्न कार्यकर्तालाई आग्रह गरिन्।
कार्यक्रममा रास्वपा भूमिकास्थान नगर कमिटीका सभापति प्रेमकुमार थापा, पूर्व लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य उमेश बन्जाडे, नगर कमिटी सचिव केबी राउत, भूमिकास्थान–१ का सभापति विष्णुबहादुर नेपाली, भूमिकास्थान–२ का सभापति कमल भुसाल लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा भूमिकास्थान नगरपालिका–१ र २ को संयुक्त वडा पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्दै पार्टीले स्थानीय तहमा संगठन विस्तारसँगै जनताका समस्या सुन्ने, समाधानका पहल गर्ने तथा समुदायसँग सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।











