मजदुर संगठनहरूको संयुक्त अपिल : सुनसरी घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षणमा जोड

  • काठमाडौं,१६ साउन । नेपालका प्रमुख मजदुर संगठनहरूले संयुक्त रूपमा अपिल जारी गर्दै सुनसरी जिल्लाको कचनकवल–कप्तानगञ्ज क्षेत्रमा भएको सामुदायिक तनाव र त्यसक्रममा भएको गोली प्रहारको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। संगठनहरूले उक्त घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई राहत तथा देशभर सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आह्वान गरेका छन्।

    क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल श्रमिक महासंघ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक), वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ तथा जनपक्षीय ट्रेड युनियन महासंघका नेतृत्वद्वारा जारी संयुक्त अपिलमा नेपालको निर्माण नेपाली जनताको साझा आकांक्षा, बलिदान र संघर्षबाट भएको उल्लेख गरिएको छ। अपिलमा मुलुकलाई सबै नेपालीको हितमा एकीकृत, सुदृढ र गतिशील बनाउनु आजको प्रमुख राष्ट्रिय दायित्व भएको उल्लेख गरिएको छ।

    संयुक्त विज्ञप्तिमा नेपाली मजदुर, किसान तथा उत्पीडित समुदायका वर्गीय समस्याको समाधानलाई राज्यको पहिलो प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गरिएको छ। राष्ट्रिय हित, सामाजिक न्याय र जनताको अधिकारविरुद्ध उभिने कुनै पनि शक्ति वा तत्वलाई राष्ट्र र जनताको विरोधीका रूपमा लिनुपर्ने उल्लेख गर्दै यस्ता गतिविधिले सामाजिक सद्भावमा खलल पुर्‍याउने चेतावनी दिइएको छ। साथै, राष्ट्रियता र सामाजिक एकतामाथि आघात पुर्‍याउने कुनै पनि गतिविधिलाई अस्वीकार गर्न सबै पक्षलाई आग्रह गरिएको छ।

    विज्ञप्तिमा गत आइतबार राति पूर्वी सुनसरी जिल्लाको कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच उत्पन्न भएको विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सकिने अवस्था हुँदाहुँदै अत्यधिक बल प्रयोग र गोली प्रहार भएको दाबी गरिएको छ। उक्त घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवको मृत्यु भएको भन्दै संगठनहरूले त्यसप्रति गहिरो दुःख व्यक्त गरेका छन्। घटनाले देशमा साम्प्रदायिक हिंसा फैलाउने वातावरण सिर्जना गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन अपिल गरिएको छ।

    मजदुर संगठनहरूले सरकारी संयन्त्रको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा यस्ता घटनाले इतिहासदेखि कायम रहँदै आएको नेपाली समाजको सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउने खतरा उत्पन्न गर्दछ। त्यसैले यस्ता संवेदनशील घटनामा राज्यले संयमता अपनाउँदै कानुनसम्मत र जिम्मेवार ढंगले कार्य गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

    संयुक्त अपिलमा घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई विशेष राहत उपलब्ध गराउन तथा घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी वास्तविक दोषीको पहिचान गरेर कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

    संगठनहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, कुनै पनि दोषीलाई राजनीतिक वा अन्य कुनै आधारमा संरक्षण गर्न नहुने तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार निष्पक्ष अनुसन्धान र न्यायपूर्ण कारबाहीले मात्र पीडित पक्षलाई न्याय दिलाउनुका साथै समाजमा विश्वासको वातावरण पुनःस्थापित गर्न सहयोग पुग्नेछ।

    विज्ञप्तिमा सम्पूर्ण नेपाली नागरिकलाई संयमित रहन, अफवाह र भड्काउ प्रचारप्रति सचेत हुन तथा सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन आग्रह गरिएको छ। कुनै पनि घटनालाई धार्मिक, जातीय वा सामुदायिक द्वन्द्वमा रूपान्तरण गर्न खोज्ने गतिविधिको प्रतिरोध गर्नुपर्ने उल्लेख गर्दै सबै नेपाली एकताबद्ध भएर शान्ति, सहिष्णुता र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा उभिनुपर्ने आह्वान गरिएको छ।

    संयुक्त अपिलमा सबै प्रकारका अराजक गतिविधि, सामाजिक विभाजन, आक्रमण र राज्य आतंकको विरोध गरिएको छ। मजदुर संगठनहरूले श्रमिक आन्दोलन केवल श्रमिक अधिकारमा मात्र सीमित नभई राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा समेत प्रतिबद्ध रहेको बताएका छन्।

    उक्त संयुक्त अपिलमा क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक ईश्वर तिमिल्सिना, अखिल नेपाल श्रमिक महासंघका अध्यक्ष विनोद थापा, नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष विष्णुप्रसाद पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव धनपति सापकोटा, वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ, नेपालका संयोजक नरेन्द्र सेराला, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापा तथा जनपक्षीय ट्रेड युनियन महासंघका अध्यक्ष कुमार घताने ले हस्ताक्षर गरेका छन्। विज्ञप्ति २०८३ साल साउन १६ गते जारी गरिएको हो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation