बुटवल ,२० बैशाख । रूपन्देही नेत्रहीन संघद्वारा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने नेतृत्व तथा क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
“शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधिमा पहुँच दृष्टिविहीनहरूको मौलिक अधिकार” भन्ने मूल नारासहित आयोजित उक्त तालिम बुटवल–८ सुख्खा नगरस्थित होटल मेरिगोल्डमा सम्पन्न भएको हो।
तालिमको सहजीकरण नेपाल नेत्रहिन संघा केन्द्रीय अध्यक्ष शिशिर खनालले गरेका थिए ।उनले सहभागिहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, अधिकार सचेतना तथा आधुनिक प्रविधिको उपयोगसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिएका हुन ।
कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूले दैनिक जीवनमा भोग्ने चुनौती, अवसर तथा समाधानका उपायहरूबारे पनि अन्तरक्रियात्मक छलफल गरिएको थियो।
तालिममा नेपाल नेत्रहिन संघ रुपन्देहिका निवर्तमान अध्यक्ष तथा प्रदेश महासचिव कृष्ण बहादुर जिले समेत सहजिकरण गरेका थिए ।
उक्त तालिममा करिब ५० जना दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपले आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले नेतृत्व क्षमता विकाससँगै समाजमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता पनि जनाएका छन्।
तालिम दुई दिनसम्म सञ्चालन भएको थियो। कार्यक्रमलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो भने आयोजनाको जिम्मेवारी रूपन्देही नेत्रहीन संघले लिएको थियो।
संघका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर र सशक्त बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता तालिम सञ्चालन गरिने जानकारी दिएका छन्। साथै, राज्यका विभिन्न निकाय र सरोकारवालाहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न थप सहयोग र सहकार्य गर्न आग्रह गरिएको छ।












