पाल्पा,३० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोच र जीवनदर्शनमा आधारित डा. रामबहादुर राउतद्वारा लिखित पुस्तक ‘जीवनशैली’ विमोचन गर्नुभएको छ । प्रगतिशील लेखक सङ्घ नेपाल, पाल्पाको आयोजनामा शुक्रबार तानसेनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुस्तक विमोचन गर्नुभएको हो ।
पुस्तकमा जीवनको अर्थ, अस्तित्व, सङ्घर्ष, सोच, व्यवहार र दृष्टिकोणलाई समेटिएको छ । सकारात्मक सोचको विकास गर्दै व्यक्तिको जीवनशैलीमा सुधार ल्याउन तथा समाजमा सकारात्मक परिवर्तनको वातावरण निर्माण गर्न पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री आचार्यले पुस्तक प्रकाशनप्रति खुसी व्यक्त गर्दै साहित्य, विचार र दर्शनका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन र रूपान्तरण सम्भव हुने बताउनुभयो । उहाँले पुस्तकले जीवनको अर्थ र सङ्घर्ष बुझ्न तथा दैनिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन पाठकलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
‘यो पुस्तकमा समाजका यथार्थ विषयहरू समावेश भएका छन् । हाम्रो जीवनशैली र जीवनयापनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयहरू यसमा छन्,’ उहाँले भन्नुभयो, ‘समाज परिवर्तन र रूपान्तरणका लागि सामूहिक प्रयत्न आवश्यक छ । यो बिषय पनि पुस्तकमा राम्रोसंग आएको छ ।’
नकारात्मक सोच र भ्रम फैलाउन खोज्नेहरू सक्रिय भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सकारात्मक सोच र चिन्तनको विकास गरी समाजलाई सत्मार्गमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
पुस्तकका लेखक डा. राउत सकारात्मक सोचका चिन्तक हुनुहुन्छ । उहाँले जीवनशैलीलाई केवल रहनसहनमा सीमित नराखी व्यक्तिको सोच, व्यवहार, दृष्टिकोण र आचरणसँग जोडेर प्रस्तुत गर्नुभएको छ । व्यावहारिक जीवनका अनुभव र प्रेरणादायी प्रसङ्गमार्फत जीवनदर्शनलाई सरल भाषामा बुझाउने प्रयास पुस्तकमा गरिएको छ ।
पुस्तकले पाठकलाई आफ्नो जीवनशैली, व्यवहार र दृष्टिकोणबारे पुनःचिन्तन गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । सकारात्मक सोचलाई व्यवहारमा उतार्दै व्यक्तिगत जीवनदेखि सामाजिक तहसम्म सकारात्मक परिवर्तन ल्याउन पुस्तकले मार्गदर्शन गर्ने विश्वास लिइएको छ ।
‘सकारात्मक सोचले जीवनलाई उज्यालो बनाउँछ, सन्तुष्ट मनले समाधान पाउँछ र सकारात्मक जीवनशैलीले समाजलाई समृद्ध बनाउँछ’ भन्ने सन्देश पुस्तकले दिएको छ । असल जीवनशैलीको अभ्यास, सकारात्मक सोचको विकास र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने उद्देश्य पुस्तकले राखेको छ ।
प्रगतिशील लेखक सङ्घ नेपाल, पाल्पाका अध्यक्ष धातानन्द गैरेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तथा साहित्य क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो । रामप्रसाद अर्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुशील बस्यालले गर्नुभएको थियो ।











