रोल्पा,१८ वैशाख। बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।
त्यसैगरी दाङको घोराही उपमहानगर–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, सात वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन् ।त्यस्तै, दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भई हाल रुकुम सिस्ने–५ बस्ने जिप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने–५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत र सिस्ने ५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन् । दुर्घटनास्थल अत्यन्तै अप्ठेरो भौगोलिक क्षेत्रमा रहेकाले उद्धार तथा शव निकाल्न केही ढिलाइ भएको प्रहरीले जनाएको छ।बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका- १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।दुर्घटनामा एक जना घाइते भएका थिए । घाइते समीर कामी सिस्ने ५ का हुन् उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।












