काठमाडौँ ,५ बैशाख । भूतपूर्व सैनिक सम्मेलन–२०८२ अन्तर्गतको अन्तिम चरणको सम्मेलन पनि सकिएको छ । शनिबार मध्यपूर्वी पृतनाअन्तर्गत रामेछापको ब्यारेकमा सम्मेलन सकिएसँगै २०८२ मा सबै भूतपूर्व सम्मेलन सकिएको हो ।
नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा हुने यो सम्मेलनले नेपाली सेनामा कार्यरत कर्मचारी, पूर्व कर्मचारी, कर्मचारीका परिवारलाई एक ठाउँमा बोलाएर विविध कार्यक्रम गर्ने गर्दछ । खड्गदल गण, रामेछापमा बलाधिकृत रथी प्रदीपजङ्ग केसी र अन्य २ उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा आज भएको सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब छ हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको थियो ।
उक्त सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक, ज्येष्ठ एकल महिला, चार सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने चार अभिभावक तथा सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीलाई सम्मान, प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो ।
सोही क्रममा फरक क्षमता भएका तथा अशक्त २४ जना भूतपूर्व सैनिकहरूलाई ह्विलचेयर तथा वैसाखी वितरण गरिनुको साथै रामेछाप जिल्लास्थित १०२ वर्षीय एकल महिला नरमाया कार्कीलाई ज्येष्ठ शताब्दी महिलाका रूपमा अभिनन्दन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।












