पाल्पा,,२६ चैत । रामपुर नगरपालिकाले सुरक्षाकर्मी तथा कर्मचारीहरुका लागि आगलागी नियन्त्रण सम्बन्धी तालिम प्रदान गरेको छ ।आगलागीको समयमा खटिने कर्मचारी, नगर प्रहरी, नेपाली सेना र नेपाल प्रहरीलाई आगलागी तथा वन डढेलो नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरेको हो । तालिममा अग्नी नियन्त्रक यन्त्रको प्रयोग, दमकलको प्रयोग ,विभिन्न स्थानमा आगो निभाउने तरिका, भान्छ घरको ग्यास आगलागी भएमा अपनाउनु पर्ने विधि र यसको नियन्त्रण, विभिन्न सामग्रीहरुको प्रयोग, वन डढेलो नियन्त्रण लगाएतका विषयमा जानकारी गराईएको थियो ।तालिमको सहजिकरण गर्दै दुर्गा फायर एक्स्टिङगुइजर एण्ड रिफिलिङ बुटवलका श्याम कुँवरले आगलागी नियन्त्रण गर्न जाँदा अत्यन्तै सावधानिपूर्वक र संयमताका साथ काम गर्नु पर्ने बताउनुभयो ।उहाँले आगो नियन्त्रणका लागि वन तथा जुनसुकै स्थानमा दमकलको प्रयोग गर्नु उचित नहुने भन्दै अवस्था र स्थान अनुसार दमकलको प्रयोग गर्न सुझाउनु भएको छ ।
साथै अग्नी नियन्त्रक यन्त्र प्रयोग गर्ने तरिका, विभिन्न पाउडरको प्रयोग, घर भान्छाको ग्यास चुलोमा आगलागी भएमा कसरी नियन्त्रण गर्ने, घर, कार्यालय , विभिन्न विद्युतिय सामग्रीमा लागेको आगो नियन्त्रण , वनमा लागेको आगो नियन्त्रण लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो ।विभिन्न सामग्रीको प्रयोग सहित गरिएको तालिममा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लाल बहादुर सुनारले आगो मान्छेको नजिकको मित्र र शत्रु दुवै भएको बताउनुभयो ।मानव जीवनका लागि आगो महत्वपूर्ण रहे पनि मानविय व्यवहारका कारण आगोले क्षति पुर्याउने बताउनुभयो । उहाँले आगो बच्चाको पहुँचबाट टाढा राख्नु पर्ने , ग्यासको प्रयोग पछि रेगुलेटर बन्द नगर्दा, विद्युतिय सामान धेरै समय चलाउँदा तथा चार्ज गर्दा ,आगोको प्रयोग पछि राम्ररी ननिभाउँदा आगलागीका घटना घटेको भन्दै यसमा सावधानी अपनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सब डिभिजन वन कार्यालय रामपुरका प्रमुख मेघनाथ काफ्लेले डढेलो मानविय क्रियाकलापका कारण आउने प्रकृतिक विपत्ति भएको भन्दै आगलागी नियन्त्रण गर्नु भन्दा लाग्नै नदिनका लागि सावधानी अपनाउनु पर्ने बताउनुभयो । उहाँले वन डढेलो रोक्नका लागि पूर्व तयारी गर्नु पर्ने आवश्कता औँल्याउनुभयो । आगलागी भएको स्थानमा खटिँदा आफु सुरक्षित भएर वनको रक्षा गर्नु पर्ने भन्दै विभिन्न सामग्रीको प्रयोग बारे जानकारी दिनु भएको थियो । उहाँले वन डढेलो न्यूनिकरण र नियन्त्रणका लागि मानविय सचेतना आवश्यक रहेको भन्दै वन कार्यालयले पनि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । विपद व्यवस्थापन शाखाका संयोजक एवं वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाले नगरपालिका भित्रका विभिन्न वन तथा स्थानमा हुन सक्ने सम्भावित आगलागीका घटना न्यूनिकरण र आगलागी भई सके पछि नियन्त्रणका लागि आवश्यक तयारी स्वरुप तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले आगलागीले विभिन्न जिवजन्तुको बासस्थान र वंश समेत नास गरि पारिस्थितिक प्रणालीमा समेत असर पार्ने हुनाले वन डढेलो हुन निदन सवै सचेत हुनु पर्ने बताउनुभयो ।रामपुर नगरपालिकाको प्राङ्गणमा भएको तालिममा आगलागी नियन्त्रणका विभिन्न तरिकाको प्रयोगात्मक समेत गरिएको थियो ।












