तौलिहवा,७ चैत । कपिलवस्तुको जिल्लाको महाराजगन्ज नगरपालिकाको बर्गदा गाउँमा शनिबार मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा त्यही नजिक रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबीच विवाद हुँदा उग्ररूपमा लिएको थियो । विवादपछि दुई समुदायबीच ढुंगा हानाहानसमेत भएको थियो । घटनापछि निमित्त प्रजिअ भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बगर्दी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् । आदेश उल्लघंन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिई कारबाही गरिने निमित्त प्रजिअ घिमरेले बताए । 












