काठमाडौँ,३० फागुन । इनिशा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग गर्दै युवाहरूले शनिबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । इनिशा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् । प्रदर्शनकारीहरूले सरकारलाई फाँसीको सजाय दिने कानुन बनाउने दबाब दिनुका साथै हत्या र बलात्कारजस्ता जघन्य अपराध दोहोरिन नपाओस् भनी सचेत गराउने उद्देश्य राखेको बताएका छन्। उनीहरूले प्रदर्शनमा “इनिसालाई न्याय देउ”, “बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर” जस्ता नारा लेखिएका प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए। साथै महिलामाथि हुने सबै प्रकारको हिंसा रोक्न सरकारले कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको पनि उनीहरूले जोड दिएका थिए।












