बुटवल, १५ फागुन । रुपन्देही क्षेत्र न– २ का उम्मेदवार बिश्वदीप पाण्डे ‘सुवास’ले आज शुक्रवार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो जारी राख्दै परिवर्तनको अभियानमा सबैको साथ सहयोग जरुरी रहेको बताएका छन् ।
सयांै नेता कार्यकर्ताको सहभागितामा बुटवल क्षेत्रका विभिन्न ठाँउमा मतदाता भेटघाट गर्दै उनले सुशासन, विकास र समृद्धीका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
मोटरसाईकल र्याली सहित वस्तीका विभिन्न चोकमा पुगेर मतदातासंग भोट माग्दै रुपन्देही क्षेत्र नं– २ मा तारा चुनाव चिन्हका उम्मेदवार बिश्वदीपले मतदाताको विश्वास, समर्थन र मतदानले मात्रै आफूहरुले आवश्यक जिम्मेवारी पूरा गर्न सक्ने बताए ।
‘घरदैलो अभियान अन्तिम चरणमा पुगे पनि तपाईंहरूको दुःख–सुखमा साथ रहने हाम्रो प्रतिबद्धता भने अब सुरु हुँदैछ ।’–उनले भने– ‘यसपटक तारा चुनाव चिन्हमा मतदान गर्नुहोस्, हामी सदनबाट तपाईंका आवाज, समस्या र अपेक्षासँग प्रत्यक्ष जोडिनेछौं ।’
निरन्तर घरदैलोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले आज शुक्रबार बुटवल क्षेत्रका वडा नं ३, ४, ५ र ६ का टोल–टोल र वस्तीमा पुग्दै भोट मागेका छन् । उम्मेदवार घरदैलोमा पुग्न नसकेका ठाँउमा स्थानीय कार्यकर्ताले मतदाताको घरमा पुगेर आफ्ना उम्मेदवारको पक्षमा सहयोग मागेका छन् ।
झण्डा, माईक, व्यानर र प्रतिवद्धतापत्रसहित मतदाताका टोल–टोल र घर–घरमा पुगेर चुनावी ऐजेण्डा प्रस्तुत गर्ने गरिएको निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’ले बताए ।
उनका अनुसार उम्मेदवारसहितको घरदैलो निर्वाचन आचारसंहिताले तोकेको समय सीमासम्म जारी रहने छ । संयोजक जीसीले प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको बताए । पछिल्लो समय मतदातामा देखिएको उत्साह र सहयोगको वचनवद्धताले आफूहरु निकै उत्साहित भएको उनले उल्लेख गरे ।












