मगर दिवसमा मुख्यमन्त्री आचार्यको शुभकामना:सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध

  • दाङ,१५ फागुन । मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।
    शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मगर समुदायको गौरवशाली इतिहास, समृद्ध कला संस्कृति, मौलिक भाषा तथा जीवन्त रीतिरिवाजले नेपाली समाजलाई विशिष्ट पहिचान दिएको उल्लेख गर्नुभएको छ । यस विशेष दिनले मगर समुदायमा पहिचान र अस्तित्वप्रति थप आत्मगौरव जागृत गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
    उहाँले मगर समुदाय नेपालका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संरचनाको महत्वपूर्ण आधार भएको बताउनुभयो । परम्परागत नाचगान, लोकसंस्कृति, मौलिक भेषभूषा, सांस्कृतिक पर्व तथा सामाजिक मूल्य मान्यताले समाजलाई समृद्ध र सशक्त बनाएको उहाँको भनाइ छ । यस्ता अमूल्य सांस्कृतिक धरोहरको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।
    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश मगर समुदायको उल्लेखनीय बसोबास रहेको क्षेत्र भएको उल्लेख गर्दै यहाँका सांस्कृतिक स्थल, परम्परागत बस्ती, लोकपरम्परा र प्राकृतिक सौन्दर्यलाई समेटेर समुदायमा आधारित पर्यटन विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनुभयो । मगर समुदायको संस्कृति, खानपान, लोककला र जीवनशैलीलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउन सकिने स्पष्ट दृष्टिकोण प्रदेश सरकारको रहेको उहाँले जनाउनुभयो ।
    प्रदेश सरकारले भाषा, कला र संस्कृतिको संरक्षणका लागि नीति तथा कार्यक्रममार्फत सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता पहललाई अझ प्रभावकारी बनाइने उहाँले स्पष्ट पार्नुभयो । मगर भाषाको संरक्षण, सांस्कृतिक अध्ययन अनुसन्धान, संग्रहालय तथा सांस्कृतिक केन्द्रको विकास, परम्परागत सीपको संरक्षण र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।
    उहाँले यस दिवसले सामाजिक एकता, पारस्परिक सम्मान र सहअस्तित्वको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । मगर समुदायको निरन्तर प्रगति, पहिचानको संरक्षण र समृद्ध भविष्यका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation