बुटवल, १३ फागुन । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयन हुने दाबी गरेका छन् । मन्त्रिपरिषद् निर्णयका आधारमा संसदमा प्रस्तुत भई पारित भएको बजेट कार्यान्वयनमा आउने भन्दै उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम रोकिने नभई कार्यान्वयनमा जाने स्पष्ट पारे । “यो सरकारले बजेट रद्द गरेको होइन, होल्ड गरेको हो । होल्ड गरिएको निर्णय छिट्टै खुला हुन्छ,” उनले भने ।
बुधबार बुटवलमा आयोजना गरिएको ‘खेलाडीसंग विष्णु प्रसाद पौडेल’ कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पौडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्ने, जिल्लालाई ‘स्पोट्र्स हब’ का रूपमा विकास गर्ने र खेल पर्यटनमार्फत रोजगारी तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने योजना रहेको बताए ।
उनका अनुसार सिद्धार्थ क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्ने, निजी क्षेत्रले निर्माण गरेको एक्स्ट्रा टेक ओभेल क्रिकेट मैदानमा सहजीकरण गर्ने तथा उजिरसिंह रंगशालाको निर्माण कार्य अघि बढाइनेछ । “रुपन्देहीलाई नयाँ मानक बनाउने लक्ष्य लिएका छौं,” उनले भने । शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका कारण रुपन्देही चिनिएको उल्लेख गर्दै उनले खेल क्षेत्रलाई सीप विकास, रोजगारी र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । खेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ थियो ।
उजिरसिंह रंगशालाको निर्माणमा ढिलाइ भएको विषयमा चासो बढेको स्वीकार गर्दै उनले जग्गा प्राप्तिमा भएको ढिलाइ र वातावरणीय अध्ययन सम्बन्धी प्रक्रिया ईआईए र आईईई झन्झटिलो हुँदा काम प्रभावित भएको बताए । एकपटक सम्पन्न भइसकेको इआईए पुनः गर्नुपर्ने अवस्था आएपछि प्रक्रिया लम्बिएको उनले स्पष्ट पारे । पौडेलले प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उक्त रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै काम अघि बढाइने तयारी रहेको जानकारी दिए ।
“कुनै पनि समस्याको समाधान निराशा होइन,” उनले भने, “प्रतिकूलता र अवरोधलाई सकारात्मक सोचका साथ समाधान गर्नुपर्छ ।”
यसैबीच खेलाडी र जनप्रतिनिधिबीच समन्वयका लागि पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई सहजीकरणको भूमिकामा अघि सार्ने प्रस्ताव पनि उनले राखे । सबै खेलका खेलाडीसँग संवाद, समस्या संकलन र समाधानका लागि जनप्रतिनिधिसँग सहकार्य गर्दै कार्यान्वयनसम्म लैजाने संवाद सुत्रका रूपमा गौचनलाई भूमिका दिने उनले बताए ।












