जनकपुर,६ फागुन। नेपाली काँग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ ।
बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा पत्रबारे विस्तृतमा जानकारी दिन काँग्रेसले बिहीबार खुला प्रश्नोत्तर गर्ने भएको हो ।
बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा-तपाईको प्रश्न’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी हुनेछन् ।सभापति थापाले ठूलो एलइडि स्क्रिनमार्फत प्रतिज्ञापत्रको संक्षेपमा जानकारी गराउने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए ।
‘नेपाली कांग्रेसले बुधबार मधेशको राजधानी जनकपुरबाट सार्वजनिक गरेको प्रतिज्ञापत्रका बारेमा बिहीबार काठमाडौंमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खुला प्रश्नोत्तर कार्यक्रम राखिएको छ,ु उनले भने।प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिए ।












