भैरहवा,३ फागुन । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–३ बाट कांग्रेस उम्मेदवार सुशील गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई जोड दिएका छन् । मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त उनले सबैभन्दा धेरै सम्भावना रहेको क्षेत्र भएकाले मानवीय विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास र आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताए ।रुपन्देही–३ का अधिकांश क्षेत्र आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यहाँका बासिन्दाले सफा सहर, शुद्ध खानेपानी, सलल ढल निकास र आधारभूत पूर्वाधारको विकास खोजिरहेको उनले बताए । ‘जतिसक्दो मतदातासित भेटघाट गरेर उनीहरुका अपेक्षा र धारण बुझिरहेको छुँ,’ उनले भने, ‘विभिन्न ठाउँका फरक फरक माग र अपेक्षा छन् । सबै टिपोट गरेको छुँ । यस क्षेत्रमा लामो समयदेखि काम गरेकाले धेरै समस्याबारे म अवगत पनि छुँ ।
क्षेत्रका घरघरमा उज्यालो अभियान, शिक्षा अन्तर्गत छात्रबृत्ति व्यवस्था, डिजिटिल माध्यामबाट रोजगारी केन्द्रित शिक्षाको व्यवस्था गर्ने आफ्नो योजना रहेको उनले बताए । ‘हरेक व्यक्तिको स्वस्थ्य जीवन बाँच्नेसँगैं पढ्ने सपना पनि पूरा होस् भन्नेमा मेरो ध्यान छ,’ उनले भने, ‘त्यस लागि कार्ययोजना तयार गरेर काम गर्छु । ति कुरा पार्टीको प्रतिज्ञापत्रमा पनि आउने नै छन् । पार्टीको रोडम्यापसँगैं क्षेत्रका आवश्यकता पूरा गर्न लागि पर्नेछु ।’

पूर्वाधार विकास अन्तर्गत गाउँदेखि सहरसम्म फुटपाथ, साइकल मार्ग सहितका आकर्षक सडक निर्माणमा जोड दिने उनको योजना छ । अहिले भइरहेका सडक पनि व्यवस्थित नभएकाले जनगुनासो बढेको उनको भनाई छ । यसका साथैं सरकारले निःशुल्क उपलब्ध गराउँदैं आएका उपचार र औषधि नागरिक सम्म पुग्ने व्यवस्था गराउने र आफ्नो तर्फबाट खर्च नभएका नागरिकलाई एक्सरे लगायत उपचार र औषधिसम्म निःशुल्क व्यवस्थापन गर्न भूमिका खेल्ने उनको योजना रहेको छ ।
सहरी र ग्रामीण बासिन्दाका लागि स्वच्छ पिउने पानी र सरसफाई अति आवश्यक रहेकाले त्यसमा आफूले ध्यान दिने उनले बताए । ‘ढल निकासको समस्या धेरै रहेको छ,’ उनले भने, ‘नागरिकलाई अप्ठ्यारो महशुष नहुने गरि ढल निकास व्यवस्थापन गरिनेछ ।’
बाढी नियन्त्रण गरेर बस्ती सुरक्षित तुल्याइने उनले बताए । यसका साथैं सीपमूलक कार्यक्रम सञ्चालन गरेर युवालाई मुलुकमै स्वरोजगार तुल्याउन कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘हाम्रो पार्टीका सभापति गगनकुमार थापाले सबैंभन्दा धेरै युवासित जोडिएर युवा लक्षित काम गर्न खोज्नु भएको छ,’ गुरुङले भने, ‘सभापतिको लक्ष्य पूरा गर्न र यहाँका युवालाई स्वरोजगार तुल्याउन मैले पनि भूमिका खेल्ने छु ।’’(पब्लिक कुरा डटकमबाट)












