बुटवल ,१० पुस । बुटवलमा रहेको गौतमवुद्ध सामुदायक मुटु अस्पतालको १२ औं वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन नहुँदा जनताले १६।१७ हजार तिरेर निजी स्वास्थ्य संस्थामा महङ्गोमा सेवा लिनु पर्ने बाध्ययतालाई अन्त्य गर्दै मेशिन खरिदपछि त्योभन्दा आधा मूल्यमा सेवा उपलब्ध गराउन सकिने उल्लेख गरे । स्वास्थ्य क्षेत्रमा रहेका विकृतिहरुलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता औल्याउँदै उनले सरकार उक्त कुरामा प्रतिवद्ध रहेको उल्लेख गरे । मन्त्री सारुले जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन गरिद गरिने उनले बताए ।
‘यसअघि अघि बढाइएको टेन्डर प्रक्रियामा कुनै एक कम्पनीलाई मात्रै लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर समाचारहरु आए विरोध भए । अब उक्त प्रक्रियालाई मिलाएर सबैले प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी स्पेसिफिकेशन तयार हुन्छ । मन्त्री सारुले भने ‘अब नयाँ प्रक्रियाबाट मेशिन खरिद प्रक्रिया अघि बढ्छ, जसरी भए पनि एमआरआई मेसिन खरिद गरी जनतालाई शुलभ दरमा सेवा प्रदान गर्न सरकार प्रतिवद्ध छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले वर्तमान सरकारलाई काम गर्नका लागि हलसम्मकै सहज परिस्थिति रहेको उल्लेख गर्दै जनताको सेवामा समर्पित हुन आग्रह गरे । बोलीमा मात्रै नभई व्यवहारिक कार्यान्वयनमा जोड दिँन र नीतिगत सुधार र स्पष्टता हुनु पर्नेमा उल्लेख गरे ।
त्यतै कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, रोटरी क्लबका र्देवेन्द्र ध्वजु, बुटवल उद्योग संघका अध्यक्ष दिलिप सापकोटा
लगाएत बोलेका थिए ।अस्पतालका अध्यक्ष यजाज आलमले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जग्गा प्राप्तिसँगै भवन निर्माणको काम थालिने उल्लेख गरे ।












