
पाल्पा, १७ भदौ । पाल्पाको तिनाउ गाउँपालिकाले भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित घर–परिवारलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रियालाई तीव्रता दिएको छ । यसैबीच गाउँपालिकाले वडा नम्बर १ देखि अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ । लामो समयदेखि जोतभोग गर्दै आएका जग्गाको पूर्जा वितरणको प्रक्रिया अन्तरगत निस्सा वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।गाउँपालिकाले यसअघि नै भूमिहिन दलित तथा सुकुम्बासीहरुलाई निस्सा वितरण गर्ने काम सम्पन्न गरिसकेको छ । त्यसै गरी छुटफुट भएका घर परिवारहरुलाई आवश्यक कागजातसहित निवेदन दर्ताका लागि ३५ दिने सूचना निकालेर संकलन गर्ने काम भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिका उल्लेख गरिएको विवरण अनुसार १ हजार ४ सय घर परिवारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको रुपमा निवेदन दर्ता गराएको छन् । नेपाल सरकारको नियम अनुसार प्रक्रियामा आएका निवेदनलाई सम्बोधन गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । नेपाल भित्र परिवारका कुनै पनि सदस्यका नाममा जग्गा जमिन, नगद तथा जग्गा बाहेक अचल सम्पत्ति भए पनि सो प्रक्रियामा सामाबेश नहुने उनले स्पष्ट पारे ।
गाउँपालिका उपाध्यक्ष लालाबहादुर थापाले नेपाल सरकारको कानुन भन्दा फरक मापदण्ड जान नसकिने बताउँदै आवश्यक कागजातहरु निवेदनमा पेस गर्न आग्रह गर्नुभयो । पालिकामा निस्सा वितरण एउटा खुट्किलो मात्र भएको बताउँदै उहाँले बाँकी प्रक्रियामा आवश्यक कागजात पेश गर्ने लाई पूर्जा वितरण गर्न सकिने बताए । सरकारले बनाएको मापदण्ड सबैले अनुसरण गर्न समेत उहाँले सुझाए दिनुभयो ।
तिनाउ गाउँपालिकामा हालसम्म २८ जना भूमिहिन दलीत रहेका छन् भने भूमिहिन सुकुम्बासीको संख्या १७६ र अव्यवस्थित बसोबासीको संख्या १ हजार ४ सय रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । सारुले प्रशासनिक कामहरुमा समस्या भएमा पालिका तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयको छ ।