नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

  • धनगढी ,१५ साउन। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
    मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा माओवादीले प्रदेश सभाले यसअघि गरेको निर्णयअनुसार नै राजधानी निर्माण गर्नुपर्ने अडान राखेको हो
    प्रदेश सभामा बोल्दै माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमबिक्रम भाटले प्रदेश राजधानी सार्ने भन्दै आइरहेका कुरामा पार्टीको गम्भीर चासो र चिन्ता भएको बताए ।
    ‘प्रदेश सभाले यसअघि गरेको निर्णय अहिलेसम्म किन कार्यान्वयन गरिएन ? कहाँ समस्या आयो ?, भाटले भने, ‘त्यसको कानुनी र प्राविधिक आधार के हो ? अन्तर्राष्ट्रिय सीमा नजिकै भएको धनगढी कहाँ र कसरी सार्छौँ ?’उनले राजधानीको विषयलाई सत्ताको हतियार बनाउन नहुने र कुनै समस्या देखिएको भए खुलस्त छलफल गर्न सकिने बताए ।
    नेकपा एकीकृत समाजवादी पार्टीले समेत दुई तिहाइ बहुमतले गरेको निर्णय परिवर्तन गरेर राजधानी सार्ने भन्दै भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएको छ । प्रदेश सभाको बैठकमा बोल्दै दलका उपनेता प्रकाश रावलले अनावश्यक कुरा गरेर सरकारले स्थायित्वमा अवरोध सिर्जना गर्ने काम गरेको दाबी गरे ।
    ‘दुई तिहाइ बहुमतले गोदावरीमा राजधानी बनाउने भनेर गरेको थियो । अहिले स्थान परिवर्तन गर्ने कुरा गरेर भ्रम सिर्जना गर्ने काम भइरहेको छ । यसले स्थायित्व होइन अस्थायी बनाउन बल पुगेको छ,’ रावलले भने, ‘सरकारले कहिले धनगढी सार्ने, कहिले पूर्व मुख्यमन्त्रीसँग छलफल गर्ने कुराले स्थायित्वमा अवरोध सिर्जना भइरहेको छ ।’
    राजधानी सार्ने सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कमलबहादुर शाहले त्यसबारे विभिन्न कोणबाट छलफल र बहस आफूले चलाएको कुरा यथार्थ भएको बताए ।
    तर राजधानी निर्माण गर्ने कुरा आवश्यकता हो की होइन र समस्याका बारेमा छलफल गर्न आवश्यक भएको उल्लेख गरेका छन् ।
    ‘राजधानी निर्माण गर्ने सन्दर्भ आवश्यकता हो की होइन रु जटिलता र समस्या कहाँ छन् भन्ने कुरामा बहस हुनपर्छ कि पर्दैन ? हो मैले बहस र छलफल चलाएको यथार्थ हो,’ मुख्यमन्त्री शाहले भने, ‘यो संघीयता र प्रदेशवासीसँग जोडिएको कुरा भएकाले गम्भीर हुनैपर्छ । मलाई विश्वास छ यसबारे गम्भीर रूपमा छलफल हुनेछ ।’
    कैलालीको गोदावरी नगरपालिका-२ र ४ को तेघरी क्षेत्रमा तोकिएको प्रदेशको राजधानी कार्यान्वयन गर्न जटिलता देखिएको भन्दै मुख्यमन्त्री शाहले धनगढी सार्ने गरी छलफल चलाइरहेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश राजधानीबारे मुख्यमन्त्रीको जवाफ खोजे पनि बिहीबारको बैठकमा काँग्रेस र एमाले भने मौन देखिएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation