लुम्बिनी प्रदेश धार्मिक–पर्यटकीय सम्भावनाले भरिपूर्ण : मुख्यमन्त्री आचार्य

  • नवलपरासी, १० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रबर्द्धन गर्न प्रदेश सरकार संग स्पष्ट दृष्टिकोण रहेको बताउनुभएको छ ।

    सुनवल नगरपालिका–१०, खखरीबारीस्थित श्री हरिहर ॐ कारेश्वर महादेव मन्दिरमा सुरु भएको श्रावणी महामहोत्सव २०८२ लाई शनिबार सम्बोधन गर्दै उहाँले लुम्बिनी प्रदेश धार्मिक तथा पर्यटकीय रुपमा प्रचुर सम्भावना बाेकेकाे भन्दै यसकाे प्रबर्द्धन गर्न सरकार संग स्पष्ट दृष्टिकोण रहेकाे बताउनु भएको हाे ।

    मुख्यमन्त्री आचार्यले भन्नुभयो,`यो भूमि आफैँमा पवित्र छ । तपोभूमि हो । संसारमा अन्यत्र नपाइने सालिकग्राम यही कालिगण्डकी नदीमा पाइन्छ । यस्तो अद्वितीय धार्मिक तथा पर्यटकीय स्थललाई विश्वसामु चिनाउने विशाल सम्भावना लुम्बिनी प्रदेशमा छ ।´
    उहाँले लुम्बिनीलाई गाैतम बुद्धको जन्मस्थल सहित, संस्कृति व्याकरणका प्रवर्तक पाणिनि ऋषिको जन्मभूमिका रूपमा समेत परिचित गराउँदै प्रदेशको सांस्कृतिक गौरवलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।
    मुख्यमन्त्री आचार्यले धार्मिक आस्थासँग जोडिएका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै भन्नुभयो,`धार्मिक तथा पर्यटकीय स्थलहरूको विकासका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । थप नयाँ योजना बनाएर ती क्षेत्रको विकासमा अघि बढ्ने तयारीमा छौँ ।´
    यस्तै उहाँले समाजसेवाका लागि सबै नागरिकलाई कम्तीमा आफ्नाे आम्दानीकाे १० प्रतिशत दान, पुण्य र पवित्र कार्यमा लगानी गर्न समेत आह्वान गर्नुभयो ।`ऋण खोजेर होइन, तर कमाइको केही हिस्सा समाजसेवामा खर्च गर्न जरुरी छ,´ उहाँले भन्नुभयो ।
    मुख्यमन्त्री आचार्यले सुरु हुन थालेकाे `उत्तरबाहिनी गंगा कार्यक्रम´मार्फत धार्मिक नदी क्षेत्रहरूको संरक्षण, व्यवस्थापन र आध्यात्मिक पर्यटन प्रवर्द्धनमा विशेष याेगदान पुग्ने विश्व व्यक्त गर्नुभयाे ।
    खखरीबारी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने र यसलाई एक महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गरिने उहाँको भनाइ थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation