रामपुरमा सुविधा सम्पन्न उद्यान निर्माण हुदै

  • रामपुर २२ फागुन । रामपुर नगरपालिका कार्यालयको प्रांगणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको छ ।
    रु १ करोड ३५ लाख ८४ हजार २८१ को लागतमा हरियालीसहितको नमूना उद्यान बनाउन लागिएको छ । उद्यान क्षेत्रमा दुई हजार ७८६ वर्ग मिटर पदमार्ग तयार पारिनेछ । पानीको फोहोरासहित विभिन्न प्रजातिका फूलको बगैँचा, दुईवटा चौतारी, चारैतिर घेराबारसहितको उद्यान निर्माण गरिने नगरप्रमुख रमण बहादुर थापा जाकारी दिए ।
    भौगोलिक हिसाबले पर्यटनको सम्भावना बोकेको रामपुरलाई पर्यटनमैत्री, हरियाली र सुविधा सम्पन्न सहरका रूपमा विकास गर्न आवश्यक संरचना निर्माणमा नगरले प्राथमिकतामा राखेर काम गरिरहेको छ । यो उद्यान त्यसअन्तर्गतको एउटा महत्त्वपूर्ण काम हो”, नगरप्रमुख थापाले भने । कालीगण्डकी नदी र रामपुर उपत्यका भएर कालीगण्डकी करिडोर सडक मार्गले जोडेकाले पनि रामपुर हेर्न र घुम्न लायक सहर बन्ने भन्दै उनले त्यसका लागि नगरपालीकाले आवश्यक योजनाका साथ काम गरिरहेको बताए ।
    नगरपालिकासँग जोडिएको यो उद्यान तयार भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समेत सहज हुनेछ । यो आराम स्थल तथा अवलोकन गर्ने माध्यम बन्नेछ । आगामी असार मसान्तसम्म सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ ।
    लुम्बिनी प्रदेश, सहरी विकास मन्त्रालयको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार निर्माण योजनाका लागि विनियोजित रु। २६ करोड ७१ लाख बराबरको रकममध्ये रु। एक करोड ३५ लाख ८४ हजार २८१ रुपैयाँ ३० पैसाको लागतमा उद्यान निर्माण हुन लागेको हो । बाँकी रकमबाट रामपुर नगरपालिका(५ र ६ मा पर्ने सहायक सडकहरूको स्तरोन्नति कार्य भइरहेको छ । यस आयोजनाअन्तर्गत उद्यानसहित यहाँ करिब नौ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको नगरप्रमुख थापाले जानकारी दिए।
    बुटवल, नारायणघाट, पोखरा र काठमाडौँजस्ता देशका ठूला सहरसँग सडक सञ्जाल जोडिएपछि यहाँको विकासले गति लिएको छ । सडक सुविधाको पहुँच पुगेपछि रामपुर एउटा सुगम सहरका रूपमा विकसित हुँदै छ । यस क्षेत्रमा स्थानीय सरकारले पर्यटकीय सम्भावना बोकेका क्षेत्र तथा धार्मिक स्थल स्तरोन्नतिको काम त्रिबरुपमा अगाडि बढाइरहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation