
देवघाट, ६ फागुन । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडासचिव नवीन भुसाल माथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै देवघाट गाउँपालिका कर्मचारीद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भिर ध्यानाकर्षण गराएका छन्।
कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दीपुर गाउँपालिका–६ का अध्यक्ष बलबहादुर गुरुङले वडासचिव भुसालको घाँटी अठ्याउँदै कुटपिट गरेका थिए । उक्त घटनाको विरोध गर्दै गाउँपालिका कर्मचारीले यस्ता घटनामा एकजुट हुनुपर्ने बताएका छन् ।
‘घाइते हुनुभएका वडा सचिव नवीन भुसालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै,नेपाल राष्ट्रसेवक कर्मचारीहरू अनवरत रुपमा कार्यसम्पादनको सिलसिलामा एकाध जनप्रतिनिधी तथा केही सेवाग्राहीहरूद्वारा हुने शारीरिक तथा मानसिक यातनाविरुद्ध हामी सबै एकजुट हुन जरुरी ठानेका छौं ।’
कर्मचारीलाई कार्यालयमा काम गर्न अनुकुल वातावरण उपलव्ध गराउन सके मात्र उसले तोकिएका जिम्मेवार वहन गर्न सक्ने र सेवाग्राहीहरूलाई गुणास्तरीय सेवा उपलव्ध गराउन सक्दछ। यस्ता अपराधिक घटनाले हामी सम्पूर्ण कर्मचारीहरूलाई कति असुरक्षित वातावरणमा काम गरिरहेका छौ भन्ने गम्भीर सवाल उत्पन्न भएको छ । यस किसिमको असुरक्षित परिस्थितिलाई गम्भीरता पूर्वक लिई सम्बन्धित पक्षले सुरक्षाको विश्वासनीय वातावरण तयार गर्न सक्नु पर्छ भनि जोडदार माग गर्दछौ। प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।