
काठमाडौं ३ फागुन। संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत लेबनानमा खटिएका नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् ।
गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीले तोडफोड गरेका थिए । त्यसक्रममा उनी घाइते भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा लगिएको थियो । अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए ।
घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ । शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेवनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।लेवनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।