
मर्चवार, १७ माघ । रुपन्देहीको ईलाका प्रशासन कार्यालय मझगावाँ मा चोरी भएको छ । कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्र सेवाको कोठा नम्बर २ को ताला तोडेर चोरी भएको कार्यालय प्रमुख यज्ञराज पोख्रेलले बताए । गएराती अज्ञात व्यक्तिले ताला तोडेर एक थान एचपी कम्पनीको ल्यापट र एक थान क्यानान कम्पनीको क्यामेरा चोरेर लगेको कार्यालय प्रमुख पोख्रेलले बताए । उनले भने, ‘कार्यालयमा सिसिटीभी क्यामेरा छैन । त्यसैले चोरी गर्न आएका कुनै व्यक्तिको पहिचान खुलेको छैन । बिहान कर्मचारी आएपछि ताला तोडिएको अवस्थामा देख्नासाथ खबर गरिएको हो ।
कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचयपत्र, मधेशी, दलित लगायत प्रमाणितका सेवाहरु प्रदान हुँदै आएको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले चोरीको घटनाबारे अनुसन्धान सुरु भएको बताए । उनले भने, ‘ईलाका प्रशासन कार्यालय मझगावाँमा सिसिटीभी क्यामेरा छैन । नजिक रहेका अन्य कार्यालयमा जडान भएको क्यामेराको सहायतासहित विभिन्न प्रविधिको प्रयोग गरी कडा अनुसन्धान थालिएको छ ।