२३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक

  • काठमाडौ,२ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ।
    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्न निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
    परिस्थितिको संवेदनशीलता हेरी आवश्यक परे जुनसुकै समयमा पनि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने चेतावनी पनि दिइएको छ।
    रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्
    महाशाखाले अनुसार शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने भनेको छ। विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
    सम्भावित सडक अवरोध तत्काल हटाउन जोखिमयुक्त राजमार्गमा डोजर, एक्साभेटर र लोडरजस्ता हेभी उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ।त्यस्तै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा नदी किनार र पहिरोको उच्च जोखिम भएका बस्तीका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।
    प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ नम्बरमा सम्पर्क गर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation