रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ११औँ पदस्थापन समारोह सम्पन्न

  • भैरहवा, २८ असार । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ११औँ पदस्थापन समारोह भैरहवास्थित एशियन बुद्ध होटलमा भव्य रूपमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्की तथा विशेष अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय हेमा बेलबासे केसी रहनुभएको थियो।

    समारोहमा रोटरी वर्ष २०२६/२७ का लागि रोटेरियन गंगाधर भण्डारीले अध्यक्ष, उपेन्द्र यादवले सचिव, टेकराज पाण्डेले कोषाध्यक्ष, बिष्णु शर्माले निवर्तमान अध्यक्ष (IPP), बसु बादलले अध्यक्ष-निर्वाचित, बीना भण्डारीले उपाध्यक्ष तथा क्लब निर्देशकहरू दुर्गा पराजुली, दीपक बर्नवाल, शिवशंकर जैसवाल, राम थापा, गोपाल आचार्य, शान्ति शर्मा, कमल कार्की र विक्रम मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो।

    कार्यक्रममा क्लबका रोटेरियन, तिनका परिवार तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सचिव उपेन्द्र यादवले सञ्चालन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णु शर्माले आफ्नो कार्यकालका सेवा परियोजनाहरूको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न परियोजनाका संयोजक तथा सहयोगी दाताहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।

    यसै अवसरमा दुर्गम क्षेत्रका ह्याप्पी स्कुल परियोजनालाई दीर्घकालीन रूपमा सहयोग पुर्‍याउने उद्देश्यले रु. १५ लाखको छात्रवृत्ति (अक्षयकोष) स्थापना गरिएको घोषणा गरियो। साथै “Do Not Waste Food” र “Do Not Waste Water” अभियानको शुभारम्भ गर्दै एशियन बुद्ध होटललाई जनचेतनामूलक आकर्षक पोस्टर तथा वाल फ्रेम हस्तान्तरण गरिएको थियो।

    नवनिर्वाचित अध्यक्ष गंगाधर भण्डारीले आफ्नो कार्यकालमा समुदायमा क्लबको सकारात्मक छवि अझ उचो बनाउने प्रतिबद्धता व्यक्त गर्दै, “मेरो कार्यकालको सफलता हामीले कति बैठक गर्‍यौं भन्ने आधारमा होइन, हाम्रो सेवाबाट कति जनाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्यौं भन्ने आधारमा मूल्यांकन हुनेछ,” भन्नुभयो।

    प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले नयाँ नेतृत्वलाई बधाई दिँदै रोटरीको आदर्शलाई आत्मसात् गर्दै समाजमा दिगो प्रभाव पार्ने सेवामूलक कार्यहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो। विशेष अतिथि सांसद हेमा बेलबासे केसीले रोटरीले शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता अभियानहरू अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation