बुटवल, १३ असार — दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–२ ले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मानव जीवन बचाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा ४० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्।
संस्थाकी उपाध्यक्ष सीता जोशीको संयोजकत्वमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष हिकबहादुर दर्लामीको अध्यक्षतामा तथा सहकारीका प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य, कर्मचारी, शुभेच्छुक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजकुमार श्रेष्ठले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजलाई प्रत्यक्ष लाभ पुग्ने कार्यमार्फत मनाउनु सहकारीको सकारात्मक पहिचान भएको बताए। उनले रक्तदानजस्तो मानवीय कार्यले समाजमा सेवाभाव, एकता र सहकार्यको संस्कार विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रमका अध्यक्ष हिकबहादुर दर्लामीले सहकारीको स्थापना दिवसलाई सामाजिक सेवासँग जोडेर मनाउने परम्परालाई संस्थाले निरन्तरता दिँदै आएको बताए। उनले सहकारीको उद्देश्य केवल आर्थिक कारोबारमा सीमित नरही सदस्य तथा समाजको समग्र हितका लागि काम गर्नु रहेको उल्लेख गरे। रक्तदानबाट संकलित रगतले दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगबाट पीडित बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले यस अभियानमा सहभागी सबै रक्तदाताप्रति उनले आभार व्यक्त गरे।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बुटवल रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। केन्द्रका मुख्य प्राविधिक डा. केशर सिंह गाहा सहितको प्राविधिक टोलीले रक्त संकलन, स्वास्थ्य परीक्षण तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी सम्हालेको थियो। कार्यक्रममा सहभागी रक्तदाताहरूको स्वास्थ्य परीक्षणपछि सुरक्षित रूपमा रक्त संकलन गरिएको थियो।
संस्थाका सचिव टिकाराम शर्माका अनुसार कार्यक्रममा ४० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन्। उनले सहकारीले स्थापना कालदेखि नै बचत तथा ऋण सेवासँगै शिक्षा, स्वास्थ्य, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। आगामी दिनमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता जनहितमुखी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उनले बताए। कार्यक्रमको अन्त्यमा संयोजक जोशिले रक्तदान गर्ने सम्पूर्ण रक्तदाता, नेपाल रेडक्रस सोसाइटी बुटवल रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक टोली तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरेकी थिईन ।स्थापना दिवसको अवसरमा सम्पन्न रक्तदान कार्यक्रमले सहकारीको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।












