बुटवल, ८ असार। बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माध्यमिक विद्यालय मा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गर्दै विशेष कार्यक्रम गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य तेजेन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरूले विद्यालय जीवनमा हासिल गरेका उपलब्धिहरूको प्रशंसा गर्दै उच्च शिक्षा तथा जीवनका आगामी चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गर्न आग्रह गरे।
कार्यक्रमका प्रमुख वक्ता तथा विद्यालयका पूर्व अध्यक्ष एवं शैक्षिक अभियन्ता होम गलामि ले विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षा नै व्यक्तित्व निर्माण र समाज परिवर्तनको महत्वपूर्ण आधार भएको बताए।
उनले विद्यालयबाट प्राप्त ज्ञान, सीप र संस्कारलाई जीवनभर आत्मसात् गर्दै राष्ट्र निर्माणमा योगदान पुर्याउन विद्यार्थीहरूलाई प्रेरित गरे।
त्यसैगरी विद्यालयका निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली ले उत्तीर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै उच्च शिक्षामा अझ उत्कृष्ट नतिजा हासिल गर्न निरन्तर मेहनत गर्न सुझाव दिए। उनले अनुशासन, लगनशीलता र सकारात्मक सोचका माध्यमबाट जुनसुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्न सकिने उल्लेख गरे।
कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तथा मुख्य शैक्षिक सल्लाहकार एवं बुटवल कालिका क्याम्पस का प्रमुख घनश्याम पाठक ले विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यालयले उत्पादन गरेका जनशक्तिले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए।
उनले भविष्यका लक्ष्य स्पष्ट बनाएर अध्ययनलाई निरन्तरता दिन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक दिनेश थापा ले विद्यालयको शैक्षिक उन्नतिमा विद्यार्थी, अभिभावक र शिक्षकको साझा योगदान रहेको उल्लेख गर्दै उत्तीर्ण विद्यार्थीहरूको सफलताले विद्यालयलाई थप गौरवान्वित बनाएको बताए।
उनले विद्यार्थीहरूको आगामी यात्रा सफल, सिर्जनशील र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गरेका थिए। बधाई तथा शुभकामना आदानप्रदानसँगै सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास जगाएको सहभागीहरूले बताएका छन्।












