अर्घाखाँची,२असार । जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको भगवती कृषि सहकारी संस्थाले बाख्रा प्रजनन तथा नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘बाख्राको नयाँ पकेट विकास कार्यक्रम’ अन्तर्गत सार्वजनिक सुनुवाइ तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
भूमिकास्थान नगरपालिकाको १५ लाख रुपैयाँ तथा सहकारी संस्थाको १० लाख ५७ हजार ७ सय ५० रुपैयाँ गरी कुल २५ लाख ५७ हजार ७ सय ५० रुपैयाँको लागतमा कृषकहरूलाई विभिन्न कृषि तथा पशुपालन सामग्री वितरण गरिएको हो।
कृषकहरुलाई भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापा, वडाध्यक्ष बुद्धिबहादुर थापा, पशु सेवा शाखाका पशु विकास अधिकृत यमुना थापा तथा पशु स्वास्थ्य अधिकृत बलराम खनालले संयुक्त रूपमा कृषकहरूलाई ३१ वटा उन्नत क्रस जातका बाख्रा, नश्ल सुधारका लागि १० वटा उन्नत जातका बोका, ५ थान मिनिटिलर, ४ थान च्याफ कटर, ४ थान दाना पिस्ने मेसिन तथा ६ थान १०० केजी क्षमताका तराजु लगायतका कृषि औजार तथा सामग्री हस्तान्तरण गर्नुभएको थियो।
सहकारीले कृषकहरूको उत्पादन र आय वृद्धि गर्ने लक्ष्यसहित बाख्राका लागि पीपीआर (PPR) खोप सेवा सञ्चालन गर्नुका साथै पशु बीमा कार्यक्रमसमेत निःशुल्क रूपमा उपलब्ध गराएको सहकारीका अध्यक्ष गणेश सुनारले जानकारी दिनुभयो।
सहकारी र नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको यस कार्यक्रमले स्थानीय स्तरमा उन्नत बाख्रा पालन प्रवर्द्धन, पशुको नश्ल सुधार, मासु उत्पादन वृद्धि तथा कृषकहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमप्रति कृषकहरूले समेत सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै यस्ता योजनाले व्यावसायिक पशुपालनतर्फ आकर्षण बढाउने विश्वास व्यक्त गरेका छन्।












