डा. अर्जुन चौधरीको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न, ज्येष्ठ नागरिक बढी लाभान्वित

  • अर्घाखाँची,१ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा झण्डै ५ सय स्थानीय नागरिकले स्वास्थ्य सेवा लिएका छन्।
    वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीका अनुसार स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ सुदृढ बनाउने उद्देश्यले यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिइएको हो। उहाँले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको बताउनुभयो।
    शिविरमा गौडा , सतिनेटा, नरपानी, जगता लगायतका विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी ज्येष्ठ नागरिकहरूको उपस्थिति बढी रहेको देखिएको थियो।
    शिविरलाई लुहेस्को लिमिटेडद्वारा सञ्चालित पोलिक्लिनिक ले प्राविधिक तथा स्वास्थ्य सेवा व्यवस्थापनको जिम्मेवारी सम्हालेको थियो। पोलिक्लिनिकका वरिष्ठ मेडिकल अधिकृत डा. अर्जुन चौधरी को समन्वय तथा नेतृत्वमा स्वास्थ्य परीक्षण, परामर्श र उपचार सेवा प्रदान गरिएको थियो।
    डा. चौधरीले स्वास्थ्य सेवा ग्रामीण बस्तीका नागरिकसम्म सहज रूपमा पुर्‍याउने उद्देश्यले पोलिक्लिनिकले पूर्ण रूपमा निःशुल्क सेवा उपलब्ध गराएको बताउनुभयो। उहाँले यस्ता शिविरले समयमै रोग पहिचान गर्न, उपचारमा पहुँच बढाउन र नागरिकको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
    शिविरका क्रममा रगत, परीक्षण साथै मधुमेह, उच्च रक्तचाप, अल्सर, दम, निमोनिया, जन्डिस, कलेजो तथा पित्तथैलीसम्बन्धी समस्या, यौन तथा प्रजनन स्वास्थ्य समस्या, महिनावारीसम्बन्धी समस्या लगायत विभिन्न रोगहरूको परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
    स्थानीयवासीहरूले निःशुल्क रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको लुहेस्को लिमिटेडद्वारा सञ्चालित पोलिक्लिनिक को यस पहललाई स्थानीयस्तरमा निकै सकारात्मक रूपमा हेरिएको छ। स्वास्थ्य सेवाप्रति संस्थाको सामाजिक उत्तरदायित्व र प्रतिबद्धताको उत्कृष्ट उदाहरणका रूपमा यो शिविर सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation