बुटवल,१५ जेठ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बनी प्रदेश समितिको आयोजनामा “पैरवी अभियान रणनीति कार्यशाला गोष्ठी” रुपन्देहीमा सम्पन्न भएको छ। 
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र समावेशिताको विषयलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले आयोजना गरिएको कार्यशालामा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
एफ.एफ,ओ नामक संस्थाको सहयोगमा भएको
कार्यशालामा बोल्दै महासंघका संघीय अध्यक्ष देबिदत्त आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न सबै तहमा सशक्त पैरवीको आवश्यकता रहेको बताए ।उनले अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म पुर्याउन संगठित प्रयास अपरिहार्य रहेको उल्लेख गरे।
साथै उनले महासंघसँग आबद्ध संस्थाहरूबीच सहकार्य र समन्वय अझ मजबुत हुनुपर्नेमा जोड दिए ।
त्यस्तै महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र अवसरका विषयमा प्रदेशस्तरबाट निरन्तर आवाज उठाउँदै आएको बताए।उनले यस्ता कार्यशालाले संस्थाका प्रतिनिधिहरूलाई विषयगत रूपमा थप सक्षम र स्पष्ट बनाउने विश्वास व्यक्त गरे
कार्यशालामा प्रदेश कार्यालय व्यवस्थापक प्रकाश नेपाली तथा केन्द्रीय समिति सल्लाहकार प्रतिक्षा शर्माले सहजीकरण गरेका थिए ।उनिहरुले “पैरवी भनेको के हो”, “पैरवीका प्रकार”, “अभियान सञ्चालनका विधि”, रणनीति निर्माण तथा प्रभावकारी अभियान सञ्चालनका विविध पक्षबारे प्रस्तुतिकरण गरेका थिए ।
सहभागीहरूले पैरवीलाई व्यवहारमा कसरी लागू गर्ने, समुदायका मुद्दालाई कसरी उठाउने र सरोकारवालासम्म कसरी पुर्याउने भन्ने विषयमा जानकारी लिएका थिए।
महासंघमा आबद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँगै हालै नयाँ आबद्ध भएका सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता रहेको कार्यक्रमकी सरोजा भण्डारीले जानकारी दिईन । उनकाअनुसार कार्यशालाले सहभागी संस्थाबीच अनुभव आदानप्रदान, नेटवर्क विस्तार तथा साझा अभियान निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको छ।
कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई स्थानीय, प्रदेश र संघीय तहमा प्रभावकारी रूपमा उठाउन यस्ता रणनीतिक कार्यशाला आवश्यक रहेको बताएका थिए। कार्यक्रमले आगामी दिनमा अपाङ्गता अधिकारको क्षेत्रमा साझा अभियानलाई थप सशक्त बनाउने विश्वास लिइएको आयोजकले जनाएको छ।













