नेपालगन्ज, ११ जेठ । बाँके तराई क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको अत्यधिक गर्मीका कारण बाँकेसहित पश्चिम नेपालका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । चर्को घाम र तातो हावाका कारण बिरामीको संख्या बढ्न थालेपछि नेपालगन्जस्थित भेरी अस्पताल ले स्वास्थ्य आपत्कालीन तयारीलाई तीव्र बनाएको छ ।
पश्चिम नेपालकै प्रमुख प्रेषण अस्पतालका रूपमा परिचित भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल ले अस्पतालको इमरजेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाइअलर्ट’मा राखिएको जानकारी दिएका छन् ।
डा. दर्नालका अनुसार पछिल्ला केही दिनयता अस्पतालमा गर्मीजन्य रोगका बिरामी उल्लेख्य रूपमा बढेका छन् । विशेषगरी टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी हुने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, अत्यधिक ज्वरो आउने तथा बेहोस हुने समस्या लिएर आउने बिरामीको चाप बढ्दै गएको उनले बताए ।
“अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ को जोखिम निकै बढेको छ । समयमै सावधानी नअपनाए ज्यानै जाने अवस्था आउन सक्छ,” डा. दर्नालले बताए ।
उनले किसान, मजदुर, रिक्सा चालक तथा खुला ठाउँमा लामो समय काम गर्ने व्यक्तिहरू सबैभन्दा बढी जोखिममा रहेको उल्लेख गर्दै दिउँसोको समयमा अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।
डा. दर्नालले गर्मीबाट बच्नका लागि हल्का र सूती कपडा लगाउन, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न, बासी तथा खुला ठाउँमा राखिएको खाना नखान र बाहिर निस्कँदा छाता, टोपी तथा सनग्लास प्रयोग गर्न सुझाव दिएका छन् ।
उनका अनुसार अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, घमौरा, झाडापखाला, फुड प्वाइजनिङ, आँखामा संक्रमण तथा एलर्जीका समस्या पनि तीव्र रूपमा बढ्न थालेका छन् ।
“यदि लगातार उच्च ज्वरो आउने, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता नरोकिने समस्या देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुग्नुपर्छ,” डा. दर्नालको आग्रह छ ।
यता मौसम पूर्वानुमान महाशाखाले पनि तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार वर्षा कम हुने र तातो हावा बढ्ने सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।












