बुटवल, १०,असार । संविधानले व्यवस्था गरेको समावेशितालाई कार्यान्वयन गर्न राजनीतिक नेतृत्वको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरको आयोजनामा मंगलबार बुटवलमा आयोजित कचहरी बहसमा सहभागीहरुले यस्तो बताएका हुन् । राजनीतिमा समावेशिताको सवाल बिषयक बहसमा राजनीतिक नेतृत्वले महिला, दलित तथा सिमान्तकृत समुदायलाई मूलधारमा ल्याउने गरी पार्टीहरुले समेत अगुवाई गर्न नसकेको बताइएको थियो । कार्यक्रममा संविधानसभा सदस्य कमला विश्वकर्माले सविधानमै भएका कतिपय व्यवस्था पनि कानुन बन्न नसक्दा कार्यान्वयनमा नआएको बताईन । उनले बाध्य बनाएको बाहेकको अधिकार कार्यान्वयन नगर्ने र कार्यान्वयन गर्न आवश्यक कानुन नबनेको बताईन । उनले दलित महिला र महिलाको हकमा राजनीतिक पार्टीहरुले समेत वेवास्ता गर्ने गरेको बताईन ।
नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य बाबुराम विश्वकर्माले पार्टीमा दलित समुदायले पदाधिकारी तहमा पुग्न निकै संघर्ष गर्नुपरेको बताए । उनले आगामि निर्वाचनमा दलित, महिला तथा सिमान्तकृत समुदायलाई उम्मे्द्वार बनाउने सवालमा आफूल्े पहल गर्ने बताए ।
यस्तै नेपाली काँग्रेसका लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले दलित, आदिवासि जनजाती, महिला, मधेशी समुदायका लागि आरक्षीत निर्वाचन क्षेत्रको खाँचो रहेको बताए । उनले आफूले समावेशि संरचना बनाउने सवालमा पार्टीभित्र कुरा उठाएको समेत बताए । यसैगरी नेकपाका सचिवालय सदस्य टिका ओलीले महिलाहरु इमान्दार भएपनि अहिलेको निर्वाचन प्रणालीका कारण चुनाव लड्न नसक्ने बताईन । कार्यक्रममा पहिलो पाईला नेपालका अध्यक्ष गौरव खनाल, सरिता जिसि, विद्यार्थी र अन्य सरोकारवालाहरुले प्रश्न र जिज्ञासा राखेका थिए । यो कार्यक्रम निकट भविष्यमा रेडियो र टेलिभिजनबाट प्रसारण हुनेछ ।












