दाङ,१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले भूम्या पर्वले प्रकृति संरक्षण, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउने महत्वपूर्ण सन्देश दिएको बताउनुभएको छ ।
भूम्या पर्व २०८३ का अवसरमा सोमवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रकृति, भूमि, जलस्रोत तथा वातावरणप्रतिको सम्मान र कृतज्ञताको भाव व्यक्त गर्दै मनाइने यो पर्व मौलिक संस्कृति, परम्परा र सामुदायिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गर्नुभएको हो ।
उहाँले विशेषगरी रोल्पा, दाङ, प्यूठान तथा रुकुम पूर्वी भागलगायत क्षेत्रमा बसोबास गर्ने समुदायले पुस्तौंदेखि संरक्षण गर्दै आएको भूम्या पर्वले प्रकृतिसँगको मानव सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व र संस्कृतिहरूले सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो ।
उहाँले सांस्कृतिक विविधता नेपालको साझा सम्पत्ति र पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण तथा प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको धारणा राख्नुभयो । उहाँले भूम्या पर्वले भूमि, कृषि तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो विकासको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै यस पर्वले सबैमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्दै समृद्ध लुम्बिनी प्रदेश निर्माणमा थप ऊर्जा प्रदान गर्ने कामना गर्नुभएको छ ।












