बुटवल,२७ जेठ । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा ्यही जेठ १७ गते राति चोरीको घटना पसल सञ्चालक र कामदारको मिलेमतोमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ।
जेठ १७ गते राति पसलबाट १ करोड ४६ लाख ९४ हजार बराबरको सुनचाँदीका गरगहनाहरू चोरी भएको भन्दै सञ्चालक दीपक विकले इलाका प्रहरी कार्यालय उजुरीपछि इलाका प्रहरी कार्यालय बुटवलले संघीय प्रहरी कार्यालय भैरहवा, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयोजनमा अनुसन्धान सुरू गरेको थियो। अनुसन्धान गर्दै जाँदा पसल सञ्चालक ४१ वर्षीय दीपक विक र पसलमा काम गर्ने दीपककै भान्जा तिलोत्तमा नगरपालिका वडा नं। २ वन वाटिका बस्ने ४७ वर्षीय नवीन विकले पसलबाट सुनका गरगहना चोरी भएको झूटो नाटक गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर यादवले विकले पसलको बिमा दाबी गर्न र अन्य मानिसहरूले पसलमा राख्न दिएको सुन र पैसा फिर्ता गर्न नगर्ने योजनाका साथ चोरीको नाटक गरेको पुष्टि भएको बताए।
घटना विवरण अनुसार सुनचाँदी पसल सञ्चालक विक १६ गते बिहान पोखरा गएका थिए।
घरपरिवार र पसलका अन्य कुनै कामदारलाई समेत जानकारी नदिई सोही राति बुटवल फर्किएका उनले नवीनसँगको मिलेमतोमा पसलमा गई सुन र चाँदीका गरगहना र काँचो चाँदी चोरी गरेर १७ गते बिहान पुनः पोखरा फर्किएका थिए।
१८ गते बिहान पोखराबाट बुटवल फर्किएका उनी दिउँसो पसलमा पुगेका थिए। त्यसपछि उनले आफू पोखरा गएको बखत पसलको ताला फोरेर ८० तोला बराबरका सुन र चाँदीका गरगहना चोरी भएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए। अनुसन्धान गर्दै जाँदा पसलमा बाहिरी व्यक्तिले नभई पसल भित्रकै व्यक्तिले चोरी गरेको हुनसक्ने आशंकामा प्रहरीले दीपक र त्यहाँ काम गर्ने कामदारमाथि अनुसन्धान थालेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार पसल वरपर र बुटवलका विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी फुटेजको आधारमा पसल सञ्चालक दीपक १६ गते राती पोखराबाट आई पसलबाट सुन र चाँदीका गरगहना चोरी गरी पुनः राति नै सिद्ध बाबाको बाटो हुँदै पोखरातर्फ गएको देखिएको छ। अहिले प्रहरीले आफ्नै पसलका सुनचाँदीका गरगहना चोरीको नाटक गर्ने दीपक र उनलाई सघाउने नवीनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। उनीहरूमाथि जिल्ला अदालत रूपन्देहीबाट आपराधिक विश्वासघात मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए।












