बुटवल,१८ जेठ । बुटवल उपमहानगरपालिकाका नगरप्रमूख सावित्रादेवी अर्याल बुटवल उपमहानर वडा नं १७ लाई ढाका कपडाबाट निर्माण गरिने सामग्रीको हब बनाउने कुरामा जोड दिनुभएको छ । ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिमको आइतबार समापन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमूख सावित्रादेवी अर्यालले बुटवल उपमहानगर वडा नं १७ स्थित रानीगञ्ज क्षेत्रलाई ढाकाको लुङ्गी, साडी, हाते झोला लगायतका सामग्री निर्माण तथा उत्पादन क्षेत्रको रुपमा विकास गर्न सकिने कुराको आवश्यकता औल्याउँनु भएको हो । श्री मोतिपुर मगर महिला समूहले तीस दिनसम्म सञ्चालन गरेको ढाकाको लुङ्गी तथा साडी बुन्ने तालिम लिएर सीप सिकेका महिला दिदीबहीनीहरुलाई सिकेको सीपलाई व्यवहारमा उतार्न र त्यसबाट स्वआयआर्जन गर्नका लागि उक्त क्षेत्रलाई ढाकाको सामग्री निर्माण क्षेत्रको रुपमा विकास गरेर सहयोग गर्न बुटवल उपमहानगरपालिका तयार रहेको उहाँको भनाई थियो । उक्त क्षेत्रमा महिलाहरुले तीन वर्षदेखि ढाका कपडाबाट उल्लेख्य रुपमा लुङ्गी, साडी लगायतका सामग्री निर्माण तथा बजारीकरण गरिरहेकाले यस क्षेत्रलाई ढाकाकोे सामग्री उत्पादनको पहिचान दिन सकिने उहाँको भनाई थियो । जसले गर्दा महिला दिदीबहीनीहरुको उद्यम विकास हुनुका साथै बुटवललाई ढाकाको लुङ्गी र साडीको पहिचान समेत मिल्ने बताउनुभयो । सोही अवसरमा बुटवल उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मीमगरले महिला दिदीबहीनीहरुको ढाकाबाट बनेको कपडा र बुनाइप्रतिको आकर्षणका कारण यसलाई व्यावसायीकरण र थप बजारीकरण आवश्यक रहेको बताउँदै वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ढाकाबाट तान मार्फत लुङ्गी निर्माण गर्ने परमपरागत सीपको अहिलेको पुस्ताले संरक्षण र अवसरको रुपमा लिनु आवश्यक रहेको उहाँको भनाई थियो । फरक प्रसंगमा उहाँले वडा नं १७ को अधिकांस भूभागमा अव्यवस्थित बसोबासी रहेकाले संघीय सरकारको नीति अनुसार बस्ती भत्काई हाल्छ की भन्ने त्रास आम मानिसमा रहेको बताउँदै बस्तीमाथि अहिले नै डोजर चलाउने, भत्काउने र नागरिकलाई घरबार बिहीन बनाउने पक्षमा वडा नरहेको प्रस्ट पार्नुभयो । सो अवसरमा प्रशिक्षक केशरी तरामुले बोल्दै सिकेका सीपलाई अर्थोपार्जन र व्यावसायमा बदल्न जोड दिनुभएको थियो । श्री मोतिपुर मगर महिला समूहका अध्यक्ष हिम कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १७ का सचिव पुनम कुँवर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सुनिता रास्कोटीको सञ्चालनमा सम्पन्न भएको थियो ।












