बुटवल,१० जेठ — बढ्दो गर्मीलाई मध्यनजर गर्दै बुटवल बसपार्क क्षेत्रमा शनिबार निःशुल्क चिसो खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक संस्था पहिलो पाइला नेपाल, बुटवल शाखा को आयोजनामा भएको कार्यक्रममा यात्रु, सर्वसाधारण तथा बसपार्क क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई चिसो खानेपानी वितरण गरिएको हो।
कार्यक्रममा करिब ६०० लिटर चिसो खानेपानी वितरण गरिएको आयोजकले जनाएको छ। गर्मीका कारण हैरानीमा परेका यात्रु तथा सर्वसाधारणले कार्यक्रमबाट राहत महसुस गरेका थिए।
कार्यक्रमका अध्यक्ष गौरव खनाल ले गर्मीयाममा यात्रु तथा सर्वसाधारणलाई सहजता होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि सन्तोष बन्जाडे ले पहिलो पाइला नेपालले समाजमा सकारात्मक सन्देश दिने काम गरेको भन्दै प्रशंसा गरे। उनले गर्मीको समयमा पिउने पानी वितरणजस्ता अभियानले मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए।
बुटवल बसपार्कमा आयोजित उक्त कार्यक्रममा स्थानीयवासी, यात्रु तथा स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्तो अभियानलाई निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।
कार्यक्रमको सञ्चालन सचिव सन्तोश सुनारले गरेका थिए बुटवल बसपार्कमा निःशुल्क चिसो खानेपानी वितरण












