काठमाडौं ,२७ वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूलाई राज्यले अपराधीको जस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताएका छन् ।
महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष स्वाँरले दुर्घटनापछि व्यवसायीलाई पक्राउ गर्ने, थुनामा राख्ने तथा मानसिक दबाब दिने कार्यले लगानीकर्तामा निराशा बढेको बताए।
उनका अनुसार यातायात व्यवसाय सञ्चालन गर्ने व्यक्ति अपराधी नभई राज्यलाई राजस्व तिर्ने जिम्मेवार लगानीकर्ता हुन्। उनले हालको बीमा प्रणालीमा रहेका कमजोरीका कारण व्यवसायीहरू थप समस्यामा परेको उल्लेख गरे।
स्वाँरले बीमा नीतिमा तत्काल सुधार आवश्यक रहेको भन्दै बीमा प्रक्रिया पूरा गरेपछि व्यवसायीलाई कानुनी रूपमा अनावश्यक हैरानी नदिने व्यवस्था हुनुपर्ने माग गरे। उनले बीमा पोलिसी बुझाइसकेपछि पनि व्यवसायीलाई अपराधीसरह व्यवहार गरिनु उचित नभएको बताए।
उनले निजी क्षेत्रको लगानीबिना यातायात क्षेत्रको विकास सम्भव नरहेको उल्लेख गर्दै यस क्षेत्रलाई व्यवस्थित र मर्यादित उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
राज्यले सार्वजनिक यातायात संस्थामा ठूलो लगानी गरे पनि अपेक्षित प्रतिफल नआएको उदाहरण प्रस्तुत गर्दै उनले निजी व्यवसायीहरूले आफ्नै स्रोतसाधनबाट देशभर सेवा दिइरहेको बताए।यातायात क्षेत्रको अधिकार प्रदेशमा आइसकेको सन्दर्भमा उनले तीनै तहका सरकारबीच नीतिगत समन्वय हुनुपर्ने बताए ।
संघीय सरकारले राष्ट्रिय नीति बनाउने, प्रदेश सरकारले कर र सुविधाहरू तोक्ने र स्थानीय तहले व्यवस्थापनको जिम्मेवारी लिने गरी स्पष्ट कार्यविभाजन हुनुपर्ने उनको सुझाव छ ।












