काठमाडौँ,२६ बैशाख। कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि डर र प्रभावबाट मुक्त भएर न्याय सम्पादन गर्न आग्रह गरेकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई तिहाइ सरकार वा महाभियोगको डरबाट समेत मुक्त भएर अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गरेकी हुन्।
‘संरचना भत्काएर परिवर्तन रोज्ने बाहना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला, तर विधि र विधिसंगतको अपेक्षा राख्नेको सपना भंग हुने तय छ,’ उनले भनिन्, ‘विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को पनि दिन्छ । औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता, शासकको स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नका लागि सैह्य हुँदैन ।’संविधान राज्य सञ्चालनको कानुनी दस्तावेज मात्र नभएर नागरिकको जीवन पद्धतिको रूपमा रहनुपर्ने उनको भनाइ थियो। विगतमा कार्यकारिणीको स्वेच्छाचारिता र अनुचित हस्तक्षेपबाट न्यायपालिकालाई सुरक्षित राख्न योगदान गर्ने पूर्वप्रधानन्यायाधीश र न्यायकर्मीहरूको उनले स्मरण गरिन्। साथै, उनले अनपेक्षित रूपमा भाद्र २३ र २४ गते घटेको घटनापछि न्यायपालिका विषम परिस्थितिमा पुगेको र क्षति भएका संरचना पुनर्निर्माणमा सहयोग गर्ने सरकार, बार एसोसिएसन, नागरिक समाज र युएन सिस्टमप्रति आभार प्रकट गरिन्। हाल न्यायपालिका ‘रिकभरी र रिफर्म’को एजेन्डासहित पुनरुत्थानतर्फ अग्रसर रहेको उनले जानकारी दिइन्।संविधानलाई यथास्थितिमा राखेर वा विरूप पारेर गरिने काम क्रान्ति हुन नसक्ने बताउँदै उनले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित कार्यहरूले निरंकुशताको झल्को दिने उल्लेख गरिन्।
विधिको शासनविरुद्ध हुने षड्यन्त्रलाई चिर्न सबैले आँट र औकात देखाउनुपर्ने उनको भनाइ थियो। आफूले कानुन व्यवसायी हुँदादेखि नै जीवनभर विभेद र अन्यायविरुद्ध लडाइँ लडेको र त्यो लडाइँ अझै बाँकी रहेको बताउँदै मल्लले सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध हुन सबैलाई आग्रह गरिन्।
कार्यक्रमको अन्त्यमा उनले संविधानवाद, विधिको शासन, नागरिक हकअधिकार र न्यायपालिकाको स्वतन्त्रता संरक्षणका लागि आम नागरिक, सञ्चारमाध्यम लगायत सबै सरोकारवालालाई अपिल गरिन्। राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिले राज्यका अङ्गहरूबिचको पुनर्मिलन र गौरवको अनुभूति गराएको बताउँदै उनले सम्पूर्ण अतिथि तथा न्यायकर्मीहरूमा कानुन दिवसको शुभकामना व्यक्त गरेकी थिइन्।












