काठमाडौँ ,२४ बैशाख। सर्वोच्च अदालतको न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको नेतृत्वका लागि शर्माको नाम अघि सारेको हो ।
न्यायपालिकाको इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरियतामा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना मानिएको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा शर्मा नेपालको ३३ औँ प्रधानन्यायाधीश बन्नेछन् ।
हाल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल पहिलो वरियतामा रहेकी छन् भने वरिष्ठ न्यायाधीश कुमार रेग्मी दोस्रो र हरिप्रसाद फुयाल तेस्रो वरियतामा रहेका छन् । उनीहरूलाई छाडेर चौथो वरियताका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाह शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकको मुख्य कार्यसूची नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस रहेको थियो । परिषद् सचिवालयका अनुसार संवैधानिक दायित्वअनुसार सर्वोच्च अदालतको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो ।
बैठकमा प्रधानमन्त्री शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी ठाकुर तथा प्रतिनिधि सभामा विपक्षी दलका नेता भीमराज आङ्देम्बे सहभागी भएका थिए । प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको पनि सहभागिता रहेको जनाइएको छ ।
४ असार, २०२७ सालमा पर्सामा जन्मिएका शर्मा ३ असार, २०९२ सालमा मात्रै ६५ वर्ष पुग्नेछन् । प्रजातन्त्रको पुनर्स्थापनापछि कुनैपनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गरेका छैनन् । ६ वर्षे कायकाल पूरा गर्दा उनी वैशाख, २०८९ सम्म प्रधानन्यायाधीश रहनेछन् ।
नेपाल ल क्याम्पसमा कानुनमा स्नातक र भारतको पुने विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गरेका उनले श्रम कानूनसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् ।












