प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस रामपुर पाल्पामा पनि मनाइयो

  • पाल्पा,२ बैशाख ।प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस रामपुर पाल्पामा पनि मनाइएको छ ।रामपुर नगरपालिकाको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । आरोग्यताको आधार योग, ध्यान र आयुर्वेद उपचार भन्ने नारा सहित दिवस मनाएको हो । कार्यक्रममा बोल्दै पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद सन्दिप रानाले नेपाल आयुर्वेद र योगको मुहान नेपाल भएको बताउनुभयो । योग र आयुर्वेदको सुरुवात यहीँबाट भएको भन्दै आयुर्वेद पद्धतीको प्राकृतिक उपचार विधि पनि यहीँबाटै विकास भएको उल्लेख गर्नुभयो ।आयुर्वेदको प्रारम्भ नेपालबाट भए पनि यसको प्रबर्द्धन र प्रभावकारी प्रयोगमा ल्याउन नसक्दा पूर्विय चिकित्सा उपचार पद्धतीको अगाडी ‌ओझेलमा परेको बताउनुभयो । आयुर्वेद र योग हाम्रो पहिचान भए पनि यसको निरन्तर प्रयोग र विकासमा ध्यान दिन आवश्क रहेको बताउनुभयो ।सांसद रानाले रामपुर र समग्र कालिगण्डकी वेशीलाई बैदिक पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि तीनै तहका सरकारसंग समन्वय गरेर योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    कार्यक्रममा लुम्बिनी प्रदेश अर्थ उद्योग तथा पर्यटन समितिका सभापति एवं प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले स्वास्थ्य मानिसको सबै भन्दा ठुलो धन भएको बताउनुभयो । नसर्ने रोगबाट बच्नका र स्वस्थ जीवनका लागि योग र आरोग्य उपचार पद्धती महत्वपूर्ण रहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले योग ध्यानले मानिसलाई निरोगी बनाइ स्वस्थ जीवन जिउन सघाउ पुर्‍याउने बताउनुभयो । स्वस्थ जीवनले मात्र मानिसमा सकारत्मक सोचको विकास हुने भन्दै स्वस्थ जीवनशैलीका लागि नियमित योग ध्यान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । साथै योग र आरोग्य सेवाका लागि रामपुर नगरपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले संयुक्त राष्ट्र संघमा नेपालले प्रस्ताव गरेको कार्यक्रम अनुसार अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन शुरु गरेको बताउनुभयो । साथै विश्वमा नसर्ने रोगको भयाभह भएका कारण यसको न्यूनिकरणका लागि योग तथा आरोग्य एक मात्र विकल्प भएको बताउनुभयो । रामपुर नगर योग समितिका अध्यक्ष सुदिप गैरेले योग तथा ध्यानले मानसिक स्वास्थ्य सबल बनाई नैतिक ज्ञान समेत प्रदान गर्ने बताउनुभयो ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम पाल्पा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य सन्दिप रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर आयुर्वेद अस्पताल रामपुर पाल्पाका प्रमुख चेमन प्रकाश पोखरेलको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । रामपुर आयुर्वेद अस्पतालको सभाहलमा भएको कार्यक्रममा योग साधनाका केही विधिहरु समेत सिकाइएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation