आत्मरक्षाका लागि चलाइएको गोली लागेर एक पोथी एकसिङ्गे गैंडाको मृत्यु

  • भरतपुर ,२७ चैत । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गस्तीका क्रममा आक्रमण भएपछि आत्मरक्षाका लागि चलाइएको गोली लागेर एक पोथी एकसिङ्गे गैंडाको मृत्यु भएको छ।
    निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना अन्तर्गत श्री नयाँ गोरख गणको सेरी सुरक्षा पोष्टबाट खटिएको गस्ती टोलीले चैत २६ गते दिउँसो करिब १२:५० बजे कोर क्षेत्रमा गस्ती गर्ने क्रममा अर्धबयस्क बच्चासहितको गैंडासँग जम्काभेट गरेको थियो।
    निकुञ्जका अनुसार गस्ती टोलीले सुरक्षात्मक उपाय अपनाउँदा पनि गैंडाले अचानक एक सिपाहीमाथि आक्रमण गरेको थियो। आक्रमणपछि गैंडा धपाउन गस्ती कमाण्डरले १० राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि पनि गैंडा नहटेपछि थप ४ राउण्ड हवाई फायर गरिएको थियो।
    तर, अवस्था नियन्त्रणमा नआएपछि घाइते सिपाहीको ज्यान जोगाउन थप २ राउण्ड गोली चलाइएको थियो। सो क्रममा एउटा गोली गैंडाको पेटमाथि करङ क्षेत्रमा लाग्दा अन्दाजी २४ वर्षको पोथी गैंडाको घटनास्थलमै मृत्यु भएको निकुञ्जले जनाएको छ।
    मृत गैंडाको खाग र खुर सुरक्षित रहेको छ। पशु चिकित्सकको टोलीले गरेको पोष्टमार्टममा गैंडाको फोक्सोमा प्वाल परेको पुष्टि भएको छ।
    घाइते सिपाहीलाई नेपाली सेना को हेलिकप्टरमार्फत उद्धार गरी श्री वीरन्द्र अस्पताल, काठमाडौंमा सघन उपचार भइरहेको जनाइएको छ। (कालिका एफएम बाट)

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation