सर्लाही,१५ फागुन। मलंगवामा गोली प्रहार गरी हत्या गरिएका सब-इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका–१० मा डेरा गरेर बस्दै आएका यादवको हत्याको योजना गणेश महतोले बनाएको अनुसन्धानको निष्कर्ष रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए । एसपी राईका अनुसार मृतक यादव र महतो लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धी थिए । वैकल्पिकतर्फ १ नम्बर सूचीमा रहेका उनले यादवको हत्या गरेर उनको सिटमा जागिर खाने योजना बनाएको अनुसन्धानबाट थाहा भएको छ । घटनापछि प्रहरीले विभिन्न विधि, प्रविधि तथा इन्टेलिजेन्स स्रोत प्रयोग गरी सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । मृतकका परिवार, आफन्त, छिमेकी तथा साथीहरूसँग सोधपुछ गर्नुका साथै प्राविधिक विश्लेषणसमेत गरिएको थियो ।
२०८२ फागुन ३ गते साँझ करिब ८ बजे सिराहा सुखीपुर नपा-९ वैशाख घर भई हाल मलंगवा नपा-१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सब-इन्जिनियर प्रमोद कुमार यादवलाई निज अभियुक्तहरूले फोन गरी कोठाबाहिर बोलाएका थिए । त्यस लगत्तै उनको देब्रे छातीमा गोली प्रहार गरिएको थियो ।
गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो । प्रहरीले उनीसहित हत्यामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले गणेश महतो, चन्द्र किशोर सिंह कुशवाहा र विजय कुमार महतोलाई पक्राउ गरेको हो । महोत्तरीको रामगोपालपुर नगरपालिका घर भएका गणेश महतो नेपाल–भारत सीमानाबाट पक्राउ गरेका हुन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले अदालतबाट १५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।












