प्रधानसेनापति सिग्देलद्वारा सुदूरपश्चिम पृतनामा निर्वाचन सुरक्षा केन्द्रित छलफल

  • काठमाडौँ,१४ फागुन। प्रधान सेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् ।
    प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटिरहित ढंगबाट सम्पन्न गर्न निर्देशन दिए । छलफलपछि प्रधान सेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिएको सुदूरपश्चिम पृतनाले जनाएको छ। सो छलफलमा कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीकोसमेत सहभागिता थियो ।
    सुदूरपश्चिममा निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सेनाले यहाँका कारागार र विमानस्थलका साथै धनगढीस्थित आयल निगमको डिपोको सुरक्षा जिम्मेवारी लिइसकेको छ । त्यसैगरी यहाँका नौ वटै जिल्लामा सेनाले गस्ती बढाउनुका साथै निर्वाचनका लागि सबै किसिमका तयारी गरेको जनाएको छ ।प्रधानसेनापति सिग्देलले आजै सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation