“सागर दाइ, तपाईं किन जेन्जि उम्मेदवारलाई सपोर्ट गर्नुहुन्न?” —सबैभन्दा पहिले, म राजनीतिक पृष्ठ मै सक्रिय छु भन्ने बुझनु पर्छ । मेरो धारणा भावनामा बगेर होइन, अध्ययन, विश्लेषण र राजनीतिक जिम्मेवारीका आधारमा बनेको हुन्छ।
भदौ २३ को जेन्जि आन्दोलन : तथ्यमा आधारित मूल्याङ्कन आवश्यक
भदौ २३ मा १२ देखि २८ वर्ष उमेर समूहका युवाहरूले सुरु गरेको भनिएको “शान्तिपूर्ण आन्दोलन” लाई सुरुमा नागरिक समाजले पनि सकारात्मक नजरले हेरेको थियो। तर घटनाक्रम हेर्दा आन्दोलन सुरुआती उद्देश्यभन्दा फरक दिशातर्फ मोडिएको देखियो। प्रहरीलाई फूल दिने कार्यक्रम केही समयमै नियन्त्रण बाहिर गयो। त्यसले योजनाबद्ध घुसपैठको संकेत पनि गरेको देखिन्छ। आन्दोलनका क्रममा केही निर्दोष युवाहरूले ज्यान गुमाए—त्यो अत्यन्त दुःखद थियो। तर सत्यतथ्य नबुझी आवेगमा पार्टी त्याग्नु वा कसैलाई सीधै दोष दिनु उपयुक्त हुँदैन भन्ने मेरो धारणा थियो। छानबिन आयोगमार्फत तथ्य बाहिर आउनुपर्छ भन्ने मेरो आग्रह रहदै आएको थियो। संवेदनशील विषयमा गहिरो अध्ययन र प्रमाणको आधारमा निष्कर्षमा पुग्नु आवश्यक हुन्छ।भन्ने मेरो सन्देश थियो ।
भदौ २४ : विध्वंस र अराजकताका दृश्य
भदौ २४ मा स्थिति झन् भयावह बन्यो। जनधनको ठूलो क्षति भयो। निर्दोष प्रहरी मारिए, सर्वसाधारण मरे, सार्वजनिक सम्पत्ति ध्वस्त भए। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत जस्ता राज्यका महत्वपूर्ण संरचनामा क्षति पुग्यो। कैदीबन्दी छुटे, व्यवसायिक क्षेत्र तहसनहस बनाइयो, विभिन्न दलका कार्यालय र नेताहरूका निजी निवासमा तोडफोड भयो।यी सबै घटना केवल आक्रोशित भीडबाट मात्र सम्भव देखिँदैन; योजनाबद्ध घुसपैठ र विध्वंसकारी तत्वको संलग्नताको आशंका स्वाभाविक रूपमा उठ्छ।
लोकतन्त्र, संविधान र स्थिरताको प्रश्न
त्यसपछि देश अनिश्चिततातर्फ धकेलियो। मुख्य चिन्ता संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा कसरी गर्ने भन्ने बन्यो। जेन्जि समूहबाट संसद विघटन गरी नयाँ जनादेशमा जाने प्रस्ताव आयो। लोकतन्त्रलाई लयमा फर्काउन निर्वाचनमा जानु र अन्तरिम सरकारको अवधारणा अघि सार्नु सकारात्मक बहसको विषय बन्यो, तर राज्य संरचना ध्वस्त पार्ने गतिविधि स्वीकार्य हुन सक्दैन भन्ने कुरा बुझ जरुरत छ।जेन्जि आन्दोलनका मूल मागहरू—भ्रष्टाचारमुक्त देश, युवालाई रोजगारी, निःशुल्क स्वास्थ्य सेवा, सुशासन—यस्ता मुद्दा थिए जसलाई कुनै एक दलको स्वामित्वको रूपमा हेर्न मिल्दैन। ती मुद्दा राष्ट्रिय एजेन्डा हुनुपर्छ। आन्दोलनले उठाएका मागहरू बोकेर सबै दल जनतामाझ जान सक्छन्। तर आन्दोलनको दोस्रो दिन देखिएको विध्वंस, राज्य संरचना ध्वस्त पार्ने प्रयास, देश अस्थिर बनाउने ब्यबस्था नै फाल्ने तहको गतिविधि विरुद्ध स्पष्ट आवाज उठाउनु पनि त्यत्तिकै आवश्यक थियो। यही सन्दर्भमा नेकपा एमाले देश जलाउने र विध्वंस गर्ने तत्वहरूको विरुद्ध स्पष्ट रूपमा उभिएको दल हो भन्ने मेरो बुझाइ छ ।लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने, समयअनुसार आफूलाई परिमार्जन गर्दै आएको मूलधारको शक्तिका रूपमा एमालेप्रति मेरो विश्वास छ। देशमा विध्वंस मच्चाउने र अराजकताविरुद्ध सशक्त एजेन्डा लिएर जनता माझ गएको दलका रूपमा एमालेलाई म देख्छु। आन्दोलनले उठाएका मुद्दालाई संस्थागत गर्न, आवश्यक परे संविधान संशोधनमार्फत सुधार गर्न, सुशासन र नैतिक राजनीतिका पक्षमा ठोस कदम चाल्न सक्षम शक्ति आवश्यक छ।
त्यसैले आसन्न निर्वाचनमा स्थिरता, सुशासन र विधिको शासनका लागि बहुमतको सरकार आवश्यक छ—र त्यो नेतृत्व एमालेले दिन सक्छ भन्ने मेरो दृढ विश्वास छ।












